०७ असार २०८३, आइतबार

उपत्यकाका सरकारी कार्यालय ५० प्रतिशत कर्मचारीबाट मात्र चलाउने सरकारको निर्णय

उपत्यकाका सरकारी कार्यालय ५० प्रतिशत कर्मचारीबाट मात्र चलाउने सरकारको निर्णय

सरकारले कोरोना संक्रमणको जोखिम बढ्न नदिन काठमाडौं उपत्यकाका सरकारी कार्यालय ५० प्रतिशत कर्मचारीबाट मात्र चलाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सरकारी, गैर सरकारी तथा बैंक तथा सेवा प्रवाह गर्ने निकायलाई वर्क फर्म होमको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

‘सरकारी र गैर सरकारी कार्यालय, बैंक तथा बैंकिङ सेवा प्रवाह गर्ने निकायले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने र वर्क फर्म होमको व्यवस्था मिलाउने निर्णय भएको छ,’ सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता खतिवडाले भने । 

सरकारले बढी जनसम्पर्क हुने कार्यालय अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्ने पनि निर्णय गरेको छ । 

सरकारले साउन ५ गतेको आदेशमा थपघट गर्दै साउन १५ गतेबाट होटल रेस्टुरा खोल्ने भनिएकोमा टेक अवे मात्र कायम गर्ने निर्णय गरेको छ ।

‘यसो गर्नुपरेको कारण, होटल रेस्टुरामा स्वास्थ्य सुरक्षाको कारण हो, मास्क नलगाउने कारण स्वास्थ्य जोखिम बढेको छ,’ उनले भने ।  

सरकारले ठेलागाढामा भइरहेको तरकारी तथा फलफूलको व्यापारमा पनि रोक लगाउने निर्णय गरेको छ । 

पढ्नुहोस्, यो पनि :

सरकारले भन्यो– मन्दिरमा नित्य पूजा मात्र, चाडबाड पनि परिवारका सदस्यका बीचमा मात्र सीमित
 

कमेन्ट गर्नुहोस्