
चीनको पूर्वी आन्हुई प्रान्तमा समुद्री जीव श्रिम्पको प्याकेजमा कोरोनाभाइरस देखिएको सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् । आयात गरिएका वस्तुमा भाइरस देखिएको यो पछिल्लो घटना हो ।
चिस्याइएका श्रिम्पहरूको प्याकेजको बाहिरपट्टि कोरोनाभाइरस देखिएको हो । वुहु शहरमा स्थानीय अधिकारीहरूले नियमित जाँचपडताल गर्दा कोरोना भेटेको सीसीटीभीले जनायो ।
हिजै मात्र शानदोङ प्रान्तमा आयातित फ्रोजन सीफूडको प्याकेजमा भाइरस भेटिएको अधिकारीहरूले बताएका थिए । उक्त प्याकेज कहाँबाट आएको भनी उनीहरूले खुलासा गरेनन् ।
जुलाई महिनादेखि चीनका अन्य शहर सियामेन र दालियानमा समेत इक्वेडरबाट आएका श्रिम्पमा कोरोनाभाइरस देखिएका छन् । त्यसपछि चीनले इक्वेडरका तीन श्रिम्प कम्पनीको उत्पादनमा प्रतिबन्ध लगाएको थियो ।
श्रिम्प मगाउने वुहुको रेस्टुराँले प्रदूषित उत्पादनलाई फ्रीजरमा राखेको र त्यससँग सम्बन्धित सबै उत्पादनलाई सीलबन्दी गरिएको जनायो ।
कामदार, खानेकुरा र रेस्टुराँको भित्री भागमा न्युक्लिक एसिड परीक्षण गर्दा परिणाम नेगेटिभ आएको पाइयो । श्रिम्प किन्ने अन्य रेस्टुराँका सबै स्टाफ तथा तिनका परिवारका सदस्यको परीक्षण गर्दा पनि नेगेटिभ रिजल्ट आएको पाइयो ।