साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा नौवटा मोटरसाइकल हराएको उजुरी पर्यो ।
आर्थिक वर्ष ०७६/७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका धेरै छन् । तर भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापा यो तथ्यलाई हेर्दा मोटरसाइकल चोरीका घटना बढेको देखिएको बताउँछन् ।
हराएका तुलनामा मोटरसाइकल धनीले पाउने सङ्ख्यामा भने निक्कै कमी भएको उनले जानकारी दिए ।
“मोटरसाइकल हराउने सङ्ख्या बढ्दो छ । हामीले चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेर कारबाही गरेका छौँ”, उनले भने, '७५ वटा मोटरसाइकल हराएको अघिल्लो वर्ष हामीले नौ जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरी मुद्दा चलाएका छौँ भने यो साउनमा मात्रै पाँच जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।'
१३ महिनामा चोरी भएका मोटरसाइकलमध्ये धनीले भने एउटा मात्रैले फेला पारेका छन् । “गएको वर्ष नै हो एउटा स्कुटी धनीले लगेको तर अरू कसैले फेला पारेका छैनन्”, उनले भने।
चितवनमा चोरी भएको मोटरसाइकल बाहिरी जिल्लामा लैजाने र बाहिरबाट चितवन ल्याइने हुँदा सम्बन्धित धनीले फेला नपार्ने गरेको पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दयाकृष्ण भट्ट चोरीका अधिकांश मोटरसाइकल स्वरूप नै परिवर्तन गरेर चलाउने गरेकाले पत्तो लगाउन नसकिएको बताउँछन् । 'चोरको नेटवर्क हुन्छ, यहाँ हराएको मोटरसाइकल बाहिरी जिल्लामा पुर्याइन्छ', उनले भने । गोरखापत्र दैनिकमा खबर छ ।