०४ असार २०८३, बिहीबार

गर्भवतीलाई अस्पताल भर्नामा सकस

साउन २९, २०७७
गर्भवतीलाई अस्पताल भर्नामा सकस

 बर्दियाको बाँसगढी नगरपालिका–४, लबडाकी २२ वर्षीया रुवि चौधरीलाई चिकित्सकले गत साउन १७ गते सुत्केरी हुने मिति तोकेका थिए । तर, तोकिएको समयमा सुत्केरी व्यथा लागेन ।

दुई साता बिते पनि व्यथा नलागेपछि रुविका श्रीमान् रन्जित आत्तिए । त्यसपछि उनले श्रीमतीलाई भर्ना गर्न अस्पताल चहार्न थाले ।

नेपालगन्जस्थित शिक्षण अस्पतालमा भर्ना नपाएपछि भेरी अस्पताल पुगे । प्रसूति गृहका चिकित्सक र नर्समा कोरोना संक्रमण पुष्टि भएकाले उक्त अस्पतालले भर्ना गर्ने अवस्था नरहेको जनायो ।

अस्पताल भर्नामा भइरहेको ढिलाइले रुविको ज्यान खतरामा परिरहेको थियो । धेरैतिर भौंतारिएपछि मंगलबार नेपालगन्जस्थित माँ जानकी अस्पतालमा शल्यक्रिया गरेर प्रसूति गराइयो । ‘तर, अस्पतालमा भोगेको दुःख भुल्न सक्दिनँ,’ रन्जितले भने ।

सोमबार डुडुवा गाउँपालिकाकी गर्भवती प्रीति खटिकको उपचारमै समस्या भयो । उनले दिनभरि अस्पताल खोज्न सास्ती व्यहोर्नु पर्‍यो । धेरैको पहलपछि सोमबार साँझ माँ जानकी अस्पतालमा उनको शल्यक्रिया भयो ।

पछिल्लो समय चिकित्सक र स्वास्थ्यकर्मीमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि अस्पतालका सेवा प्रभावित बन्न थालेका छन् ।

अस्पतालका प्रसूति गृहलगायत क्षेत्र सिल हुन थालेपछि गर्भवती महिलाले सास्ती खेप्नुपरेको हो । साउनको दोस्रो सातादेखि बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ ।

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले गएको आइतबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारी कार्यालयलगायत सबै क्षेत्रमा संक्रमण देखिएको छ ।

सामान्य अवस्थामा भेरी अस्पताल नेपालगन्जमा दैनिक एक दर्जनभन्दा बढी महिला प्रसूति हुँदै आएका थिए । बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । कान्तिपुर दैनिकमा ठाकुरसिंह थारू र रूपा गहतराजले खबर लेखेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्