
अमेरिकाको प्रमुख तथ्यांक विश्लेषण वेबसाइट फाइभथर्टीएटले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पले जित्ने सम्भावना २९ प्रतिशत रहेको आकलन गरेको छ ।
सन् २०१६ को चुनावमा पनि उक्त वेबसाइटले ट्रम्पको आँकडा त्यति नै भएको बताएको थियो र पछि ट्रम्पले चुनाव जितेका थिए ।
नेट सिल्भरको उक्त वेबसाइटले यूएस इलेक्टोरल कलेजका कुल इलेक्टरहरूको संख्या तोकेर आफ्नो भविष्यवाणी सार्वजनिक गरेको हो । कुल ४० हजारवटा साइमुलेसनका आधारमा यो भविष्यवाणी गरिएको हो ।
डेमोक्रेट पार्टीका जो बाइडनले चुनाव जित्ने चान्स ७१ प्रतिशत छ ।
सुप्रसिद्ध तथ्यांक विश्लेषकको आँकडामा बाइडनको प्रदर्शन लोभलाग्दो छ अनि उनले लामो समयदेखि ट्रम्पविरुद्ध फराकिलो अग्रता कायम राखेका छन् । यसले गर्दा चुनाव उनैले जित्ने अनुमान गर्न सकिन्छ । तर नेट सिल्भर यसमा ढुक्क छैनन् ।
‘दैवसंयोग नै भन्नुपर्ला, ठ्याक्कै यही आँकडा सन् २०१६ मा हामीले गरेको अन्तिम भविष्यवाणीमा थियो,’ उनले ट्वीट गर्दै भने । तर त्यतिखेर ट्रम्पले सबैको अनुमानलाई झूटो तुल्याउँदै चुनाव जिते । फाइभथर्टीएटले चाहिँ ट्रम्प हार्छन् भनेर त्यतिखेर ठोकुवा गरेको थिएन ।
‘अहिले पनि ट्रम्पलाई कम आँक्नु हतारो हुनेछ,’ सिल्भरले आफ्नो भविष्यवाणीको विस्तृत व्याख्या गर्दै भने । ‘आजै चुनाव हुने हो भने बाइडनले प्रचण्ड बहुमत ल्याएर जित्थे होलान् । तर निर्वाचन आउन अझै समय छ ।’
ऐतिहासिक रूपमा हेर्दा अमेरिकी निर्वाचनहरूमा अगस्ट महिनाको मध्यबाट निर्वाचन हुने दिनसम्म माहोल पूरै परिवर्तन पनि हुन सक्ने देखिएको छ । कुनै पनि चुनाव भविष्यवाणी मोडल शतप्रतिशत सही हुँदैन । कोरोनाको खोप चुनावअघि बनेछ भने अनि अहिले चलिरहेको ब्ल्याक लाइभ्स म्याटर विरोध प्रदर्शन चालू भइरहेमा चुनाव परिणाम सोचेभन्दा बेग्लै आउन सक्छ ।