२७ जेठ २०८३, बुधबार

गोहीको पेटबाट फर्किएका बालक खुसी बोकेर घर फर्के

कात्तिक २०, २०७४
गोहीको पेटबाट फर्किएका बालक खुसी बोकेर घर फर्के

चितवन, २१ वैशाख– चितवन मेडिकल कलेज अर्थाेपेडिक वार्डको २९६ नं श्ययामा हँसिलो मुद्रामा थिए चितवन जगतपुरका १२ वर्षीय अर्जुन हरिजन । घर जान पाउने खबर आएपछि खुसी नहुने कुरै भएन ।

उनकी आमा फूलमायाँ अस्पतालको डिस्चार्ज कागज मिलाउँदै र बाँकी भुक्तानीको व्यवस्थापन गर्दै थिइन् । उनलाई सहयोग पुर्याउँदै थिए बुवा रामबहादुर र सहयोगी कृष्ण शर्मा ।

हालै गोहीले चपाएर पनि बाँचेका अर्जुन २७ दिनको अस्पताल बसाईमा सात दिन सघन उपचार कक्षमै रहे । ‘अब घर जाने, ठीक हुन लाग्यो,’ हात देखाउँदै अर्जुनले हर्षित हुँदै भने । बुधबार ४ बजे उनलाई अस्पतालले डिस्चार्ज गरेपनि आवश्यक तयारी र वर्षाका कारण राति ८ बजे मात्रै उनी अस्पतालबाट घर हिँडे । ‘मलाई सहयोग गर्नेहरुलाई धेरै धेरै धन्यवाद, अब म ठीक भएर घर जाँदैछु, बाइबाई,’ हात हल्लाउँदै अर्जुनले भने ।

गोहीको आक्रमणबाट जोगिएको उनको हातमा ब्यान्डेज छ । निको हुनलाई अझै महिनौँ लाग्ने चिकित्सकले बताएका छन्् । ‘हप्तैपिच्छे अस्पताल आउनुपर्छ भनेका छन्,’ उनका बुबा रामबहादुरले भने, ‘तपाईं सबैले गरेको सहयोग हामी सुकुम्वासीका लागि ठूलो भो ।’ अस्पतालका अनुसार अर्जुनको उपचारका लागि १ लाख ४३ हजार लागेको छ । सात दिन आइसियु र अरू २० दिन सामान्य श्ययामा बसे अर्जुन ।

डिस्चार्ज हुँदै गर्दा चितवन मेडिकल कलेजले रु ४२ हजार छुट गरेको छ । कलेजका प्रमुख प्रशासक देवराज लोहनी सामाजिक सेवाअन्तर्गत यसरी छुट गरिएको बताउँछन् । सहयोगी कृष्ण शर्माका अनुसार रु एक लाखभन्दा बढी औषधिमा खर्च भएको छ ।

लोकान्तरसहित विभिन्न सञ्चारमाध्यमबाट समाचार सार्वजनिक भएपछि अहिलेसम्म देश र विदेशमा बस्ने नेपालीबाट करिब ४ लाख ५० हजार आर्थिक सङ्कलन भएको छ । उपचारबाट बचेको रकमलाई कोष बनाएर उनको शिक्षादीक्षामा खर्च गरिने सहयोगी अभियन्ता विकास पाठकले बताए ।

हात काट्नुपर्ने अवस्थाबाट जोगियो– चिकित्सक

उनको उपचारमा संलग्न चिकित्सकले सुरुको अवस्था देख्दा हात काट्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए । पूरै हातको भित्री हड्डी नै बाहिर निस्किएको थियो । तैपनि हात जोगाउन खटियो टोली । शल्यक्रियापछि हात जोगिएकोमा उनीहरु पनि आश्चर्यमा छन् ।

सुरुमै गोहीको मुखबाट भाग्यले बाँचेका उनको अनुभवी चिकित्सकीय टोलीका कारण शल्यक्रिया सफल हुँदा हात जोगियो । ‘ओपन फ्याक्चर, हड्डी नै बाहिर आएको थियो, पाता र किला राखेर अड्याएका छौँ,’ अर्थाेपेडिक सर्जन डा आकेश प्रजापतिले भने, ‘हात काटेर फाल्नुपर्ने देखिन्थ्यो, धन्न जोगियो ।’

अर्जुनको परिवार सकुम्वासी हो । भरतपुर नपा–२३ को जगतपुरस्थित घैलाबारी बस्ने उनी चैत २४ गते चितवन निकुञ्जसँगै जोडिएको राप्ती नदीमा पौडी खेल्न गएका बेला उनलाई गोहीले समाएको थियो । भाग्यले गोहीले चपाएर पनि उनी बाँच्न सफल भए । सँगै गएका साथीहरुले गोहीको आँखामा हानेपछि गोहीले छाडेको थियो ।

एउटा हात तीन ठाउँमा भाँचिएर हाड नै बाहिर निस्किएको थियो । टाउको छेक्न खोज्दा अर्को हातमा पनि गोहीले समाएको थियो । पेट र छातीमा प्वाल पारेको छ । ‘धन्न आन्द्राभुँडी तथा मुटुमा दाँतले भेट्न पाएन,’ डा आकेशले भने, ‘त्यहाँ भेटेको भए ज्यान जोगिन गाह्रो थियो ।’

छातीका विभिन्न ठाउँका घाउ ओभानो भएका छन् । खुट्टाभरि भएको घाउमा खाटा बस्न थालेको छ । उनलाई हप्तैपिच्छे नियमित परीक्षणमा आउन अस्पतालले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्