
नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ गएको पहिरोका कारण भएको क्षतिमा सरकारलाई दोषी करार गरेको छ।
जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ, अझै २३ जना बेपत्ता छन्।
लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँका नागरिकले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार नपुगेको कांग्रेसको आरोप छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्रायाई मात्रै होइन राज्यको अक्षम्य गल्ती हो।’
प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग नभए पनि जोखिमको पूर्वसूचना पाएपछि नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको रहेको कांग्रेसको ठहर छ।
‘हामी प्रश्न गर्न चाहन्छौ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ?,’ कांग्रेसले भनेको छ।