०५ असार २०८३, शुक्रबार

रोकिएन पहिरो खस्न

साउन ३२, २०७७
रोकिएन पहिरो खस्न

जुगल गाउँपालिका–२ लिदीको भिरालो बस्तीमा पहिरोको त्रास अझै टरेको छैन । माथिको डाँडाबाट ढुंगामाटोको लेदो शनिबार पनि खसिरहेको छ । शुक्रबारको पहिरोले नछोएर बाँकी रहेका घरहरू पनि शनिबार क्रमशः खसिरहेको लेदोले भत्काउँदै लगेको छ । उद्धारका लागि आएका सुरक्षाकर्मीसमेत ओइरिरहेको पहिरो हेर्दै ज्यान हत्केलामा राखेर कुटो, कोदालो, साबेलले बेपत्ताको खोजीमा जुटेका छन् ।

लिदी लामागाउँको पहिरोमा घरसँगै पुरिएर बेपत्ता ३९ मध्ये शनिबार अबेरसम्म १८ जनाको शव फेला परेको छ । २१ जना अझै बेपत्ता छन् । साविक गोल्चे गाविसको लिदीको पहिरोले पुरेको अवस्थामा फेला परेका सबै शवको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मृत्यु भएकामा १० बालबालिकासहित चार महिला र बाँकी पुरुषको शव फेला परेको हो । पहिरोले क्रमशः पुर्दै लगेको हेर्दै आफन्तको सम्झनामा भक्कानिएका लिदीका ३२ वर्षीय निमाछिरिङ दोङ टेन्टमुनि सम्हालिन सकेका छैनन् । ‘जब पहिरो र घर देख्छु आमा, श्रीमती र छोराको झलझली याद आउँछ । मन गाँठो परेर सम्हालिनै सक्दिनँ । फर्केर आउँदैनन् भनेर पनि चित्त बुझ्दैन,’ उनले भने ।

लिदीको क्षतिग्रस्त बस्तीभन्दा दुई सय मिटर पर रहेको लप्सेडाँडामा जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रसले दिएको टेन्टमा रात बिताएको उनले बताए । बस्ती जोखिममा परेपछि माथ्लो लप्सेडाँडा गाउँ गएर बस्दै आएको उनको परिवार साता दिनअघि मात्रै लिदीको पहिरोमुनिकै पुरानो घरमा फर्किएको थियो । ‘घरको चाँजोपाँजो मिलाउन गएका सबै आफन्त गुमाएँ । न घर रह्यो न जमिन छ,’ उनले भने ।

महिना दिनअघि नै पूरै गाउँ जोखिममा देखिएपछि एक सय ७२ परिवार जुगल–१ को बासखर्कस्थित वनको जग्गामा आश्रय लिन गएका थिए । वनले बस्न नदिएपछि गाउँ फर्किएर फेरि लप्सेडाँडाको जंगलमा गोठ हालेर बसेका थिए ।

गत साउन २३ मा गाउँ जोखिममा परेको भन्दै अहिले पुरिएका आफन्तसहित एक सय ७० परिवारले जिल्ला विपद् व्यवस्थापन समिति, गाउँपालिकादेखि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । लामाटोल जोड्नेलप्सेडाँडाको छेउछाउका भूभाग धाँजा फाटेपछि भने आजित स्थानीय डराउँदै भए पनि पहिरोमुनिको आफ्नै थातथलो फर्केका थिए ।

भूकम्पले माथिल्लो पहाड कमजोर बनाएर पहिरो खस्न थालेपछि सुरक्षित बासको खोजीमा भौंतारिएका स्थानीय सुनलाल तामाङले सरकारले उठिबास भएपछि बल्ल टेन्ट दिएको बताए ।

लप्सेडाँडाबाट बस्तीमाथि खसिरहेको पहिरो हेर्दै टोलाएका उनले भने, ‘पाँच वर्षपछि परिवार गुमाएपछि सरकारले देख्यो र टेन्ट, पाल दिएको छ ।’

परिवार गुमाएको पीडासँगै भोक र रोगले झन् कष्ट भइरहेको उनले बताए । त्रिपालमा बस्न पाए पनि खानेकुरा, औषधि, पानी नहँॅदा समस्या भइरहेको उनले गुनासो गरे । ‘यत्रो मान्छे गुमाएपछि मात्रै सरकारले हेर्न सुरक्षाकर्मी पठायो,’ उनले भने, ‘गर्भवती र बिरामीले केही औषधि नपाउँदा अप्ठ्यारो भएको छ ।’ विस्थापित एक सय ३५ परिवारमा गर्भवती र बालबालिकाको संख्या धेरै भएकाले पौष्टिक आहार र औषधिको समस्या भएको उनले बताए ।

भूकम्पलगत्तै र गत साउनमा पनि जनप्रतिनिधि र स्थानीयले दिएको निवेदनलाई सरकारले बेवास्ता गरेर स्थानान्तरणको पहल नगरेपछि अधिकांशले गाउँ छाडेको सुनमाया दोङले बताइन् । ‘पहिरोको डरले हुनेखानेहरू काठमाडौं, चौतारा र जलबिरे सरे । हामी कतै जाने ठाउँ नभएकाहरू यहीं बसेका छौं,’ उनले भनिन् । लप्सेडाँडाको जंगलमा बनाएको गोठमा सुत्ने गरेको उनले बताइन् । पहिरो खसेका बेला पनि २० परिवार जंगलमा बस्न गएकाले जोगिएको उनले सुनाइन् ।

एक सय ७० घर रहेको लामागाउँमा शुक्रबारको पहिरोमा परी बस्तीबीचका ३७ आंशिक भत्किएका छन् भने १७ घर नामनिसाना नै नभेटिने गरी सोत्तर भएका छन् । घटनापछि १ सय ३५ परिवार विस्थापित भएका छन् ।

पहिरोमुनिबाट केही परिवारले मात्रै बचाएका भाँडाकुँडा प्रयोग गरेर आलोपालो खाना पकाएको उनीहरूले बताएका छन् । ‘घरपरिवार सबै गुमाइयो, पाल र टेन्टमुनि कतिन्जेल यसरी अलपत्र भएर बसिरहनुपर्ने हो थाहा छैन,’ दोङले भनिन् ।

पहिरोमा पुरिएको भेटिएका आफन्तको शव हेर्दै शोकाकुल बनेका उनीहरू लप्सेडाँडाको सडकछेउको भूभाग पनि भास्सिएर जाने त्रासमा छन् । वरिपरिको कारुणिक दृश्य हेर्दै रोइरहेका ६० वर्षीय हीराबहादुर दोङका अनुसार वृद्धवृद्धालाई टेन्टमा बस्न धेरै समस्या भएको छ ।

जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार तत्कालको समस्यालाई टार्न प्रदेश सरकारसँग समन्वय गरेर व्यवस्थापन भइरहेको छ । ‘अहिलेलाई प्रदेशसँगको समन्वयमा व्यवस्थापन भइरहेको छ । अन्य बिस्तारै गर्छौं,’ उनले भनिन् ।

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएका भूर्गविद्सहितको अध्ययन टोलीले लिदी बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको थियो । टोलीले गरेको जोखिमपूर्ण स्थानको अध्ययन र अनुगमनमा ‘रेड जोन’मा राख्नुपर्नेमा ‘एल्लो जोन’मा राखिदिएकाले लिदीलाई स्थानान्तरण नगरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘यसमा स्थानीय सरकार र पुनर्निर्माण प्राधिकरणको गैरजिम्मेवारीपन देखिन्छ,’ उनले भने ।

घटना भएयता शनिबारसम्म फेला परेका १८ शवको बौद्ध परम्पराअनुसार सामूहिक अत्येष्टि गरिएको छ । प्रहरीका अनुसार लिदी लामागाउँकी ३६ वर्षकी टीकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, वर्ष ५ की प्रीति दोङ र ५ महिनाकी कान्छी दोङको शव फेला परेको हो । यस्तै शव भेटिएकाहरूमा ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिश दोङ, १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कवीर दोङ, ११ वर्षकी लक्ष्मी दोङ र ३० वर्षका मानबहादुर दोङलगायत छन् ।

बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसक्दा सेना, सशस्त्र र नेपाल प्रहरीका ५५ जनाको टोली मिलेर साबेल, कोदालोको भरमा बाँकी बेपत्ता खोजिरहेको डीएसपी माधवप्रसाद काफ्लेले बताए । गाउँपालिकाले शुक्रबार ३८ जना बेपत्ता रहेको सूची बनाएको थियो । स्थानीय कवीर दोङ पनि फेला नपरेपछि सूचीमा उनको नाम पनि थपिएको छ । ‘बेपत्ताको खोजी भइरहेको छ । पानी परिरहेकाले लिदीमा फेरि पहिरोको जोखिम छ,’ उनले भने ।

घटनामा घाइतेमध्ये जिल्ला अस्पताल चौतारामा उपचाररत ९ वर्षीय रूपबहादुर दोङ शनिबार डिस्चार्ज भएका छन् । अन्य चार जनाको उपचार भइरहेको छ । ४५ वर्षीया यामुलामु दोङको राजधानीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

सुरक्षित बासको व्यवस्था गर्छौं ः मुख्यमन्त्री पौडेल
राहत लिएर शनिबार घटनास्थल पुगेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विस्थापित परिवारका लागि सुरक्षित बासको व्यवस्था गर्ने आश्वासन दिएका छन् । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का पर्यटन तथा वनमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालसहित पुगेका उनले लिदी घटनाले सरकारको ध्यानार्कषण भएको उल्लेख गरे ।

जुगल क्षेत्रका लागि तत्काल २० लाख बजेट छुट्याएको बताएका उनले अहिलेलाई अस्थायी र सरोकारवालासँग छलफलपछि प्रक्रिया पुर्‍याएर आवासका लागि लाग्ने बताए । मुख्यमन्त्रीको टोलीले पहिरोपीडित परिवारलाई चिउरा, चाउचाउ, बिस्कुट, नुन र कम्बललगायत सामाग्री वितरण गरेको थियो । कान्तिपुर दैनिकमा अनिश तिवारीले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्