
पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको उपचारका क्रममा साँझ ५ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटका कारण सातमहिने शिशुको मृत्यु
रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए।
रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कुटाइबाट पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ । घाइते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमती कुटपिट गर्ने कुले विकलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरीले बताएको छ ।
पुलबाट हाम फाल्दा एक जनाको मृत्यु
स्वर्गद्वारी– प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ ।
मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।