
वासिङ्टन (एजेन्सी)– अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानको तेलमाथि कब्जा गरेको छ ।
चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल तेल ‘विदेशी साझेदारहरूको सहयोगमा’ नियन्त्रणमा लिइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती जहाजले अमेरिकी प्रतिबन्ध उल्लंघन गरेकाले नियन्त्रणमा लिइएको हो ।
भेनेजुएलाका लागि इरानी राजदूतले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेका छन् । अमेरिकाले गत महिना अदालतमा मुद्दा हालेपछि एक न्यायाधीशले ती चारवटा जहाज कब्जा गर्न स्वीकृति दिएका थिए ।
अमेरिकी न्याय मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘इस्लामिक रेभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को लाखौं डलर मूल्यको तेल सफलतापूर्वक कब्जामा लिइएको’ जनाएको छ । बेरिङ, पान्डी, बेला र लुना नामका ती जहाजहरू अहिले कहा छन् भन्नेबारे केही उल्लेख गरिएको छैन ।
इरानी सशस्त्र बलको एउटा अंग आईआरजीसीलाई अमेरिकाले आतंकवादी संस्थाको सूचीमा राखेको छ । अमेरिकी न्याय मन्त्रालयले कब्जामा लिइएका तेल आफ्नो देशले कब्जामा लिएको जनाए पनि तेल नियन्त्रणमा लिइएको र राखिएको स्थानबारे केही उल्लेख गरेको छैन ।
इरानी जलसेनाले ती जहाज कब्जामुक्त गर्न एउटा अलग्गै जहाज नियन्त्रणमा लिने असफल प्रयास गरेको पनि अमेरिकाको दाबी छ । समाचार संस्था एपीले एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै तेल कब्जा गर्न कुनै सैन्य शक्ति प्रयोग नगरिएको र जहाजलाई भने नियन्त्रणमा नराखिएको जनाएको छ ।
बीबीसीका अनुसार भेनेजुएलाका लागि इरानी राजदूत होजात सोल्तानीले जहाज नियन्त्रणमा लिइएका विवरण गलत रहेको दाबी गरेका छन् । ‘यो अर्को झूट र अमेरिकाको गलत प्रचारको मनोवैज्ञानिक युद्ध हो,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । सन् २०१८ मा अमेरिकाले एकपक्षीय रूपमा इरानसँगको परमाणु सम्झौताबाट अलग भएपछि दुई देशबीच तनाव उत्कर्षमा छ । अमेरिकाले इरान र भेनेजुएलाविरुद्ध तेल निर्यातलाई लक्षित गरी प्रतिबन्धहरूको घोषणा गरेको छ । भेनेजुएलाबाट राष्ट्रपति निकोलस मडुरोलाई शक्तिबाट हटाउन चाहने अमेरिकी प्रशासनले इरानी नेताहरूको व्यवहार परिवर्तन होस् भन्ने चाहन्छ । कान्तिपुर दैनिकमा खबर छ ।