
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले अन्य देशबाट हुन सक्ने सैन्य खतराबाट सुरक्षा दिन रुस सहमत भएको बताएका छन् ।
लुकाशेन्कोले छिमेकी मुलुक पोल्यान्ड र लिथुआनियामा भइरहेको नेटो सैन्य अभ्यासका विषयमा पनि चिन्ता व्यक्त गरे ।
अहिले बेलारुसमा अगस्ट ९ मा भएको राष्ट्रपति निर्वाचनको परिणामका विषयमा विवाद चलिरहेको छ । राष्ट्रपति लुकाशेन्कोविरुद्ध हिंस्रक विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनको लाइभ कभरेजको माग गर्दै शनिवार हजारौं मानिस नेसनल टीभी कार्यालयबाहिर भेला भएका थिए ।
लुकाशेन्कोले चुनावमा प्रचण्ड बहुमत पाएको दाबी गरेका थिए । तर निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन भइरहेका छन् र देशमा अशान्ति छ ।
सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्कोले ८० प्रतिशत मत पाएको निर्वाचन आयोगको कथन छ । प्रमुख विपक्षी उम्मेदवार स्वेत्लाना तिखानोभ्स्काले १०.१२ प्रतिशत भोट पाएकी छन् ।
तर भोट सही तरिकाले गन्ने हो भने आफूले ६० देखि ७० प्रतिशत मत पाउने तिखानोभ्स्नाको भनाइ छ ।
देशमा तनाव बढ्दै गएपछि लुकाशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका थिए । पुटिनले सहयोग गर्ने आश्वासन दिएको उनी बताउँछन् ।
युरोपेली संघका सदस्य मुलुकहरूका परराष्ट्रमन्त्रीहरूले बेलारुसमा चुनाव धाँधली गर्ने अधिकारीविरुद्ध नयाँ प्रतिबन्ध लगाउने घोषणालगत्तै लुकाशेन्कोको बयान आएको हो ।
अमेरिकाले बेलारुसमा स्वतन्त्र र निष्पक्ष चुनाव नभएको भन्दै निन्दा गरेको छ ।
छिमेकी मुलुकहरू लिथुआनिया र लात्भियाले बेलारुसमा मध्यस्थता गर्न तयार रहेको बताएका छन् । तर त्यसअघि अधिकारीहरूले प्रदर्शनकारीका विरद्ध दमन रोक्नुपर्ने र नागरिक समाजका सदस्यहरूको एक परिषद् गठन गर्नुपर्ने बताएका छन् ।
सन् २०१४ मा क्राइमिया प्रायद्वीपलाई रुसमा मिसाइएपछि अनि पूर्वी युक्रेनमा पृथक्तावादीहरूलाई समर्थन गरेका कारण बेलारुसमा पुटिनप्रति सन्देह बढेको छ ।
सन् २०१९ को डिसेम्बर महिनामा पुटिन र लुकाशेन्कोले युनियन स्टेट अफ रुस यान्ड बेलारुसको २०औं वार्षिकोत्सव मनाएका थिए । दुई देशबीच यो सन्धि सन् १९९९ मा भएको थियो ।
बेलारुसलाई रुसमा मिसाउने अभीष्टले यो सन्धि गरिएको भनी बेलारुसीहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् ।
अहिले दुई देशबीच सैन्य सुरक्षा साझेदारीको कुरा उठ्दा बेलारुसीहरूमा डर झनै बढेर गएको छ ।
खासमा रुस र बेलारुसकीच राजनीतिक, आर्थिक र सामाजिक मेलमिलाप बढाउनका लागि युनियन स्टेट अफ रुस यान्ड बेलारुस सन्धि ल्याइएको थियो ।