२३ असार २०८३, मंगलबार

कार्यदलले एकता सुनिश्चित बनाएको छ, भ्रम नछरौं - प्रवक्ता श्रेष्ठ

कार्यदलले एकता सुनिश्चित बनाएको छ, भ्रम नछरौं - प्रवक्ता श्रेष्ठ
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका निम्ति बनाइएको कार्यदलका बारेमा विभिन्न भ्रम छरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रवक्ता श्रेष्ठले ६ सदस्यीय कार्यदलले आफ्नो काम शुरू गरिसकेको र सकारात्मक सन्देश दिइसकेको बताए ।

'हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र संकट निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ,' उनले लेखेका छन् ।

उनले यसअघि सार्वजनिक रूपमै पार्टी संकट निकासको सूत्र प्रस्तुत गरिसकेको भन्दै पार्टी एकताको रक्षाले आफूहरूलाई खुसी बनाएको बताए ।

'कार्यदलले तात्कालिन रुपमा कोभिड-१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्तत: राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक/आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ,' उनले लेखेका छन् ।

उनले कार्यदलले दिएको सुझाव स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागत निर्णय गरिने बताए ।

'यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो,' उनले भनेका छन्, 'तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।'

salt training

कमेन्ट गर्नुहोस्