११ असार २०८३, बिहीबार

पाँचौं चरणको उडान आजबाट

भदौ १, २०७७
पाँचौं चरणको उडान आजबाट

विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज (सोमबार) देखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो ।

सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । भदौ १५ पछि सरकारले नियमित उडान गर्ने जनाइसकेको छ । सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ ।

युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।

दुबईबाट ८ वटा, दोहाबाट ७, क्लालालम्पुरबाट ६, दम्माम र अबुधाबीबाट ५–५, कुवेतबाट ३, रियाद र सारजाहाबाट २–२ र अमेरिका, जापान, जेद्दा, कोरिया र अस्ट्रेलियाबाट १–१ गरी ४३ वटा उडान हुनेछन् । हाल तोकिएका १२ वटा गन्तव्यबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहने नेपालीलाई पनि यिनै उडानबाट स्वदेश फर्किन खुला गरिएको छ । ‘कतिपय मुलुकमा नियमित उडान सुरु भइसकेको छ । उद्धार उडानका लागि तोकिएका गन्तव्यसम्म ट्रान्जिट बनाएर नेपाल आउन सकिनेछ,’ ती अधिकारीले भने ।

उद्धार उडानको टिकट बिक्री सम्बन्धित वायुसेवा कम्पनीले मात्रै गर्न पाउनेछन् । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ । सीसीएमसीका एक सहसचिवका अनुसार नेपाली दूतावासहरूमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेको भन्दै नाम टिपाएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्