०७ असार २०८३, आइतबार

एकै प्रदेशमा २७५ प्रहरीलाई कारवाही : प्रहरी निरीक्षकदेखि जवानसम्म बर्खास्त

भदौ १, २०७७
एकै प्रदेशमा २७५ प्रहरीलाई कारवाही : प्रहरी निरीक्षकदेखि जवानसम्म बर्खास्त

आर्थिक वर्ष २०७६/७७ मा विभिन्न कसूर गरेको आरोपमा २ नम्बर प्रदेशका २७५ जना प्रहरीलाई कारबाही गरिएको छ ।

प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्मलाई कारवाही गरिएको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहका अनुसार प्रहरी आचरण विपरीत तथा अन्य आर्थिक अनियमिततासहित विभिन्न आपराधिक काममा संलग्न रहेका प्रहरी कर्मचारीलाई कारबाही गरिएको हो ।

‘आर्थिक अनियमिततामा संलग्न हुनेदेखि प्रहरी आचरण विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई प्रशासनिक कारबाही गरिएको छ,’ सिंहले भने, ‘कतिपय प्रहरी कर्मचारीहरू आफू खुशी अटेर गरेर वैदेशिक रोजगारीमा जानेदेखि आर्थिक अनियमिततामा संलग्न भएका प्रहरी कर्मचारीलाई बर्खास्त नै पनि गरिएको छ ।’

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार १ जना प्रहरी नायव निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवल्दार र २ जना प्रहरी जवानसहित ७ जनालाई जागिरबाट बर्खास्त गरिएको छ । ५ जना प्रहरी हवल्दार, १६ जना प्रहरी जवान र २ जना कार्यालय सहयोगीसहित कुल २३ जनालाई सेवाबाट हटाइएको छ । ११ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगीसहित १२ जनालाई कारबाही स्वरूप सेवा अन्त्य गरिएको छ । 

प्रदेशमा १ जना प्रहरी निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, १३ जना प्रहरी हवल्दार र २० जना प्रहरी जवानसहित ३७ जना प्रहरी कर्मचारीलाई कारबाही स्वरूप पदबाट निलम्बन गरिएको छ । २ जना प्रहरी निरीक्षक, २ जना प्रहरी नायव निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवल्दार र ७ जना प्रहरी जवानसहित १६ जना प्रहरी कर्मचारीलाई स्वतः निलम्बन गरिएको छ । फौजदारी अभियोग लागेको अवस्थामा प्रहरी कर्मचारी स्वतः निलम्बनमा परेका छन् । 

३ जना प्रहरी नायव निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी हवल्दार, ६ जना प्रहरी जवानसहित १३ जनालाई कारबाही स्वरूप सचेत गराइएको छ । ३ जना प्रहरी निरीक्षक, ७ जना प्रहरी नायव निरीक्षक, २० जना प्रहरी सहायक निरीक्षक, ४१ जना प्रहरी हवल्दार, ४४ जना प्रहरी जवानसहित कूल ११५ जना प्रहरी कर्मचारीलाई नसिहत प्रदान गरिएको छ । 

१ जना प्रहरी निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, ५ जना प्रहरी हवल्दार र १४ जना प्रहरी जवानसहित कूल २४ जना प्रहरी कर्मचारीलाई कारबाही स्वरूप ग्रेड घटुवा गरिएको छ । १ जना प्रहरी हवल्दार र १ जना प्रहरी जवानसहित २ जना प्रहरी कर्मचारीको ग्रेड रोक्का गरिएको छ । १० जना कर्मचारीलाई शुरू स्केलमा घटुवा, १ जना प्रहरी नायव निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, ६ जना प्रहरी हवल्दार, ७ जना प्रहरी जवानसहित कूल १६ जना प्रहरी कर्मचारीलाई कारबाही स्वरूप पदोन्नति रोक्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा २६ जना, सिरहामा ५६ जना, धनुषामा ३० जना, महोत्तरीमा १३ जना, सर्लाहीमा २१ जना, रौतहटमा ३० जना, बारामा १५ जना र पर्सामा ३५ जनालाई कारबाही गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरमा २८ जना, प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा ८ जना, प्रदेश सशस्त्र प्रहरी गण जनकपुरमा ६ जना, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा ७ जना प्रहरी कर्मचारीलाई सजाय स्वरूप कारबाही गरिएको छ । 

प्रदेशमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक, ८ जना प्रहरी उपरीक्षक, २८ जना प्रहरी नायव निरीक्षक, १२१ जना प्रहरी सहायक निरीक्षक, २३० जना प्रहरी हवल्दार, ४१० जना प्रहरी जवान र ९ जना प्रहरी कार्यालय सहयोगीसहित कूल ९८५ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरेर पुरस्कृत गरिएको छ ।

‘आफ्नो ड्युटी राम्रो तरिकाले गरेको, अनुसन्धान राम्रो तरिकाले गरेको, नाम चलेका कुख्यात फरार अपराधीलाई पक्राउ गरेको, उत्कृष्ठ काम गरेर प्रहरी संगठनको नाम उज्ज्वल गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको छ,’ सिंहले भने ।

कमेन्ट गर्नुहोस्