
गण्डकी प्रदेश सभाको सोमवारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।
सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटक–पटक ध्यानाकर्षण गराइए पनि त्यसको बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको रकम बाँडफाँडमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरिएको भन्दै सो विभेद हटाइनुपर्ने पनि माग गरेको छ ।
यसअघि आइतबार पनि सोही विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गराएको थियो । सोमवारको बैठक शुरू हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्य उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेका थिए ।
बैठक अवरोध जारी भएपछि सभामुख अधिकारीले अर्को बैठक भदौ ९ गते १ बजेसम्मका लागि स्थगन गरेका छन् ।