
अनलाइन माध्यमबाट ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
राहदानी नम्बर एन ११७९७०१ बाहक रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई काठमाडौंबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हाे।
पीडित युवतीले प्रयोग गर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा कोस्टाले आफूलाई मार्क आरोन नामले परिचय गरी 'म लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हो, नेपाल आएर तपाईँलाई विवाह गर्छु' भनी नयाँ वर्षको अवसरमा हीराको औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउन्ड समेत पठाएको भन्दै प्रलोभनमा पारी सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन रकम आवश्यक प-यो भनेर पटक पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ लिई ठगी गरेको खुलेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ, ९ सय अमेरिकी डलर, एटिएम कार्डहरू, पाउडरको वट्टाहरू, १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बन्डल, विभिन्न केमिकल हरू, टेप, पेपर कटर लगायतका सामान प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको थियो। कोस्टा २०७६ फागुन २४ गते नेपाल आएको प्रहरीको अनुसन्धानमा खुलेकाे प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान पश्चात ठगी र खोटा मुद्रा बनाउन नहुने कसुर समेतमा थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित कोस्टालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ।