साउदी अरबको सरकारी तेल कम्पनी आरामकोले चीनसँगको १० अर्ब डलरको सम्झौता अन्त्य गर्ने निर्णय लिएको छ ।
यस सम्झौता अन्तर्गत आरामकोले चीनसँग मिलेर एक प्रशोधन तथा पेट्रोकेमिकल्स कम्प्लेक्स बनाउन खोजेको थियो ।
कोरोनाकालमा तेलको मूल्य निकै घटेकाले आरामकोले यो निर्णय लिएको बताइएको छ । अहिले तेल कम्पनीहरूलाई निकै घाटा लागेको छ ।
कोरोना महामारी खोप सर्वसुलभ नहुन्जेल नियन्त्रणमा आउने लक्षण नदेखिएकाले बजार र औद्योगिक गतिविधि कहिलेसम्म प्रभावित हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।
आरामकोले यस विषयमा टिप्पणी गरेको छैन । उनको चिनियाँ साझेदार चाइना नर्थ इन्डस्ट्रीज ग्रूप कर्पोरेसन र पानजिन सिनचेनका तर्फबाट पनि कुनै बयान आएको छैन ।
संसारभरि तेल कम्पनीहरूको हालत उस्तै छ । माग र मूल्यमा कमीका कारण उनीहरूले निकै घाटा सहनु परिरहेको छ ।
आरामकोले अहिले पूँजीगत खर्च घटाउनमा जोड दिइरहेको छ । कम्पनीले ७५ अर्ब डलरको डिभिडेन्ड पनि जारी गर्ने निर्णय लिएको छ ।
सन् २०१९ को फेब्रुअरी महिनामा साउदी युवराज मोहम्मद बिन सलमानले यस सम्झौतामा हस्ताक्षर गरेका थिए । आरामकोले एसियाली बजारमा उपस्थिति बलियो बनाउन र चीनले साउदी अरबमा विशाल लगानी गर्न यो सम्झौता फलदायी हुने अपेक्षा गरेका थिए । तर कोरोनाले यसमा ब्रेक लगाइदिएको छ ।