
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका निर्वतमान मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनाललाई गएको साता कोरोना संक्रमण भयो । उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै लेखे, ‘मेरो कोभिड–१९ पोजेटिभ आएको छ ।
अहिले म ‘सेल्फ आइसोलेसन’मा छु । मेरो सम्पर्क आउनुभएकाहरूले पीसीआर परीक्षण गरी ढुक्क हुनुहोस् ।’
संक्रमणले अवस्था जटिल बन्दै गएपछि खनाललाई शनिवार काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगेर भर्ना गरिएको छ ।
गएकै साता जिल्ला अस्पताल, कपिलवस्तुमा कार्यरत नेपालकै पहिलो कोरोना संक्रमित नर्सलाई संक्रमण दोहोरियो ।
अस्पतालमा कार्यरत उनी मात्रै होइन उनीसँगै काम गर्ने एउटै अस्पतालका २१ जना स्वास्थ्यकर्मी, स्टार्फनर्स र चिकित्सकमा समेत संक्रमण देखियो । उनीसहित अन्य स्वास्थ्यकर्मीहरू अस्पतालकै ‘क्वार्टर’ मा आइसोलेट भएर बसेका छन् । एक साथ धेरै स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि अहिले पनि अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा बन्द छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरी पनि संक्रमित भए । प्रदेश ५ मा दैनिक कोरोनाको प्रेस ब्रिफिङ गराउने चौधरीले आफूलाई संक्रमण भएपछि सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।
होम आइसोलेसनमा बसेका उनीको अवस्था जटिल बन्दै शनिबार बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आईसीयूमा ल्याएर भर्ना गरी उपचार भइरहेको छ ।
चौधरीको प्राथमिक कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका सबै (८ जना) लाई समेत संक्रमण पुष्टि भएको छ । शुक्रवार रूपन्देहीको भैरहवास्थित भीम अस्पतालका २ जना र युनिभर्सल मेडिकल कलेजका १ जना चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका दुईजना स्वास्थ्यकर्मी पनि संक्रमित हुन पुगे ।
संक्रमण दर समुदायस्तरमै तीव्र रूपमा फैलिँदा उपचारमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमा संक्रमण दर बढ्दै गएका हो ।
अहिलेसम्म प्रदेश ५ मा ४५ जना स्वास्थ्यकर्मी, चिकित्कसक र प्यारामेडिक्स संक्रमित भएका छन् । संक्रमितमध्ये ७० प्रतिशत पछिल्लो एक सातामा संक्रमित भएकाहरू हुुन् ।
संक्रमित स्वास्थ्यकर्मीहरूमा लक्षण र जटिल संक्रमण देखिँदा अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिँदै गएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेल अस्पतालमा आउने बिरामीको उपचारमा खटिने चिकित्सक संक्रमणको निसानामा परेको बताए ।
संक्रमितको सम्पर्कमा पुगेकाहरूको कन्ट्याक्ट टे«सिङ नगरिँदा शंकास्पद बिरामी अस्पतालसम्म आइपुग्छन् ।
उनीहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी समेत अहिले संक्रमित हुने क्रम बढ्दै गएको हो । प्रदेश ५ मा संक्रमण बढेसँगै स्वास्थ्यकर्मीलाई पनि संक्रमण हुने दर बढ्दै गएको हो ।
संक्रमितको उपचार र आइसोलेसनको व्यवस्थापनका क्रममा उचित सावधानी नपुग्दा ‘फ्रन्टलाइन’ मा रहेर काम गर्नेहरू संक्रमणको उच्च जोखिममा परेको कोरोना अस्पतालका फोकल पर्सन वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।
थापाले लोकान्तरसँग भने, ‘अन्य लक्षण नभएका बिरामीसँग सम्पर्कमा आउँदा चिकित्सकहरूमा संक्रमण बढ्दै गयो, चिकित्सहरूमा पनि जटिल लक्षणहरू देखिँदैछ ।’
संक्रमण तीव्र हुँदा कोरोना विशेष अस्पतालमा बिरामी भरिएका छन् । अस्पतालका ३ वटा भेन्टिलेटर, १३ आईसीयू र २३ वटा आइसोलेसन वार्ड भरिएका छन् ।
थापाले थपे, ‘अब आउने बिरामीलाई बेड नै छैन । आईसीयू र भेन्टिलेटरका ५ जनाको अवस्था जटिल छ, उनीहरू रुपन्देही, कपिलवस्तु र दाङका हुुन् ।’
संक्रमण समुदायमै पुगिसकेपछि प्रदेश सरकार कोरोना प्रतिकार्य योजना स्वीकृत गरी स्वास्थ्य क्षेत्रमा स्वास्थ्य उपकरणहरू खरिदको तयारीमा जुटेको छ ।
झण्डै २५० वटा भेन्टिलेटर, आईसीयू र अन्य स्वास्थ्यकर्मीका लागि उपकरण खरिदको तयारी गरिएको छ । प्रदेश ५ मा अहिले करीब १ सयवटा मात्र आईसीयू छन् ।
प्रदेशमा अहिलेसम्म ५ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने १७ जनाको मृत्यु भइसकेको छ ।