
धनुषाको गंगुलीस्थित आइसोलेसन केन्द्रमा चरम लापरबाही भइरहेको त्यहाँ बसिरहेका कोरोना संक्रमितहरूले गुनासो गरेका छन् । प्रदेश सरकारले स्थापना गरेको उक्त आइसोलेसन केन्द्रमा कार्यरत सफाइकर्मी (स्विपर) लाई संक्रमितको शरीरको तापक्रम लिन खटाउने गरिएको बारे एक संक्रमितले भिडियो खिचेर सार्वजनिक गरिदिएका छन् ।
जनकपुरका रेडियोकर्मी राकेश साह कोरोना पुष्टि भएपछि उक्त आइसोलेसनमै बसिरहेका छन् । त्यहाँको बेथितिबारे उनले दिनहुँ भिडियो खिचेर सार्वजनिक गरिरहँदा पनि प्रदेश सरकार चनाखो भएको देखिन्न । शनिबार थर्मल गन बोकेर तापक्रम जाँच्न गएका व्यक्तिसित साहले सोधखोज गर्दा उनले सफाइकर्मी भएको स्विकारेका थिए । ‘आइसोलेसनमा विभिन्न रोगले ग्रस्त बिरामी छन् । उनीहरूको स्वास्थ्यबारे जानकारी लिन स्वास्थ्यकर्मी खटिएका छन् । तर स्वास्थ्यकर्मी आफू नआएर स्विपरलाई खटाइन्छ,’ साहले फोनमा भने ।
पीपीई लगाएका सफाइकर्मीलाई तापक्रम जाँच्न प्रयोग गरिएको आइसोलेसन इन्चार्ज सन्तोष ठाकुरले स्विकारेका छन् । ड्युटीमा खटिएका डा.दीपु यादवले सफाइकर्मीलाई तापक्रम जाँच्न पठाएर गल्ती गरेको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि विशेष हेरचाह, चिकित्सकीय निगरानी र स्वास्थ्य तथा सफा वातावरणका लागि आइसोलेसनमा राख्नुपर्ने हो ।
तर आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले भने व्यवस्थापनको खिल्ली उडाइरहेको संक्रमितहरूको गुनासो छ । सफाइ कर्मचारीले संक्रमितको तापक्रम जाँचेको विषयमा अनुसन्धान थालिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनुषाका संयोजक डा.जामुन सिंहले बताए ।
उनले विज्ञप्तिमार्फत आइसोलेसनमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई प्रादेशिक अस्पतालमा झिकाएर अर्को टोली पठाएको बताए । आइसोलेसनमा धेरै दिनदेखि सरसफाइ भएको छैन । फोहोरकै बीचमा बेड लगाएर बस्नुपरेको संक्रमितहरू बताउँछन् । ‘कोठामा फोहोरको थुप्रो छ, तर सरफाइ हुँदैन,’ संक्रमित साहले भने, ‘नामको मात्र आइसोलेसन छ । चिकित्सक बिरामीलाई हेर्न पनि आउँदैनन् । लामखुट्टेले टोकेर रात काट्नै मुस्किल छ । गाईगोरुले खानेजस्तै खाना खानुपर्ने बाध्यता छ । पौष्टिक आहारको कुरै छाडौं, पानी तताउने सुविधा पनि छैन । शौचालयको गन्धले आइसोलेसनमा बस्नै नसक्ने अवस्था छ ।’
धनुषाको मिथिलाबिहारी नगरपालिका–५ ललियाका ७५ वर्षीया रामेकवाल साह मधुमेह रोगी हुन् । उनको आइसोलेसनमा बस्दा झन् स्वास्थ्य बिग्रिएको छ । ९ दिनदेखि बस्दै आएका उनलाई स्वास्थ्यकर्मीले कुनै स्वास्थ्य सल्लाहसमेत दिएका छैनन् । कोठामा चारैतिर फोहोरले दिन काट्नै मुस्किल भएको उनले गुनासो गरे । पहिलेदेखि नै रोगका कारण आलु खान प्रतिबन्ध थियो । तर आइसोलेसनमा आएपछि दिनहुँ आलुकै तरकारी खानुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘समस्या र गुनासो सुन्ने कोही छैन,’ उनले भने ।
आइसोलेसन इन्चार्ज ठाकुरले कोठाभित्रको सरसफाइ संक्रमित आफैंले गर्नुपर्ने बताउँछन् । आइसोलेसन केन्द्रमा ३ जना स्विपर कार्यरत रहेको र दिनहुँ सफाइ भइरहेको समेत उनले दाबी गरे । कोरोना संक्रमण बढेपछि सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार गंगुलीस्थित आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा गत चैत १४ देखि क्वारेन्टाइन सञ्चालनमा ल्याएको थियो । पछि त्यसलाई नै आइसोलेसनमा परिणत गरिएको हो । कान्तिपुर दैनिकमा सन्तोष सिंहले खबर लेखेका छन् ।