
भारतीय कांग्रेसमा जारी विवादबीच सोमवार बसिरहेको कार्यसमिति बैठकमा अध्यक्ष सोनिया गान्धीले पदबाट राजीनामा दिएकी छन् ।
सन् २०१९ मा पार्टीले आमनिर्वाचन हारेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि सोनियालाई अन्तरिम अध्यक्ष बनाइएको थियो ।
अध्यक्ष सोनियाको १ वर्षे अन्तरिम कार्यकाल सकिनैलाग्दा कांग्रेसभित्र नयाँ नेतृत्वको विवाद र बहस चर्किएको छ । २ हप्ताअघि पार्टीका २३ नेताले अध्यक्ष सोनियालाई चिठी लेखेपछि कार्यसमिति बैठक बोलाइएको हो ।
बैठकमा पार्टीको आगामी नेतृत्वबारे छलफल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष नैतिकताको आधारमा राजीनामा दिएका राहुलले गैरगान्धी व्यक्तिले पार्टीको नेतृत्व गर्नुपर्ने बताएका थिए । त्यसैले तत्कालै राहुल अध्यक्ष नहुने अड्कलबाजी भारतीय सञ्चारमाध्यमले गरेका छन् । पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कांग्रेसको भाबी अध्यक्षका रुपमा हेर्न थालिएको छ ।