
रुसले टर्कीलाई एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको दोस्रो जत्था दिनका लागि सहमति गरेको रुसको सरकारी हतियार निर्यातक संस्था रोसोबोरोनएक्सपोर्टले आइतवार जनाएको छ ।
उक्त निकायका महानिर्देशक अलेक्जेन्डर मिखीभले यसबारे विस्तृत विवरण भने दिएनन् ।
सन् २०१७ मा रुस र टर्कीले लगभग साढे २ अर्ब डलर पर्ने एस–४०० क्षेप्यास्त्र प्रतिरोधक प्रणाली आपूर्ति गर्ने सम्झौता गरेका थिए र सन् २०१९ मा पहिलो जत्था पठाइएको थियो ।
रुससँग क्षेप्यास्त्र प्रणाली किन्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो ।
एस–४०० क्षेप्यास्त्र प्रणाली रुसको अत्याधुनिक प्रविधि हो र यसले ४०० किलोमिटर परसम्मको र ३० किलोमिटर माथिसम्मको क्षेप्यास्त्रलाई नष्ट गर्न सक्छ ।