
कोरोना भाइरसको सङ्क्रमण सोमबार ७ सय ४३ जनामा देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २ सय ३४ परीक्षण गरिएकोमा ७ सय ४३ जनामा सङ्क्रमण देखिएको बताए। तीमध्ये महिला २ सय ४६ र पुरुष ४ सय ९७ जना रहेका छन्।
अहिलेसम्म नेपालमा ३२ हजार ६ सय ७८ जनामा कोरोना सङ्क्रमण भइसकेको छ। यसैगरी सोमबार १७५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन्। अहिलेसम्म १८ हजार ८ सय ६ जना सङ्क्रमण जितेर घर फर्किसकेको उनले जानकारी दिए। निको हुने दर ५८ प्रतिशत रहेको छ । यसैगरी सङ्क्रमितमध्ये १३८ जना सघन उपचार कक्ष (आइसियु) मा र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
यस्तै काठमाडौ उपत्यकामा २२४ जनामा सङ्क्रमण भएको छ। मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार काठमाडौमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना आज देखिएका नयाँ सङ्क्रमित हुन्।
यसैगरी ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला सात वटा रहेका छन। उनका अनुसार ती जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा, र काठमाडौ रहेका छन्। यस्तै दुई जिल्ला मुस्ताङ र हुम्ला सङ्क्रमण मुक्त भएका छन्। यस्तै सक्रिय संक्रमित १३ हजार ७१५ रहेका छन् भने आइसोलेसनमा नौ हजार १५४ जना र होम आइसोलेसनमा चार हजार ५६२ जना रहेका छन्।