०४ असार २०८३, बिहीबार

संक्रमण बढ्यो, ट्रेसिङ र टेस्टिङ बढेन

भदौ ९, २०७७
संक्रमण बढ्यो, ट्रेसिङ र टेस्टिङ बढेन

काठमाडौं महानगरपालिकामा सोमबारसम्म एक हजार सात सयभन्दा बढी कोरोना संक्रमित भइसके । दुईवटा वडामा एक सयभन्दा बढी संक्रमित छन् । वडा ३ महाराजगन्ज क्षेत्र र वडा ३२ कोटेश्वर क्षेत्रमा एक सय जनाभन्दा बढी संक्रमित छन् । यसबाहेक ११ वटा वडामा ५० जनाभन्दा बढी संक्रमित छन् ।

यी वडाहरूमा न कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी रूपमा हुन सकेको छ न समुदायस्तरमा कोरोना फैलियो कि फैलिएन भनेर परीक्षण नै भएको छ । ‘एक सयभन्दा बढी संक्रमित भएको वडामा समुदायमै गएर परीक्षण गरिदिन हामीले आग्रह गरेका छौं,’ काठमाडौं महानगरपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण टोलीका ‘फोकल पर्सन’ ज्ञानबहादुर ओलीले भने ।

कन्ट्याक्ट ट्रेसिङको काम स्थानीय तहलाई दिइएको छ । कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी हुन नसकेको स्थानीय तहका पदाधिकारीहरू स्विकार्छन् । ‘उपत्यकामा समुदायस्तरमै कोरोना फैलिने खतरालाई मध्यनजर गरी रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउँदै छौं,’ काठमाडौं उपत्यका फोरमका प्रमुख एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौं । यसमा स्वास्थ्य मन्त्रालयको अनुभवी टिमसमेत हाम्रो साथमा हुनेछ ।’ काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहमा २८ हजार ५ सयको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हुन सक्ने शाक्यले बताए ।

काठमाडौं उपत्यकामा असार २४ सम्म २ सय ९० संक्रमित हुँदा समुदायस्तरमा कोरोना फैलियो कि भनेर आत्तिने स्वास्थ्य मन्त्रालयको संयन्त्रले सोमबारसम्म ३ हजार ४ सय ८६ पुग्दा न कन्ट्याक्ट ट्रेसिङमा स्थानीय तहलाई सघाउन सकेको छ न त समुदायस्तरमा परीक्षण गर्ने योजना नै बनाएको छ । असार २४ सम्म काठमाडौंमा १ सय ९१, ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित थिए । असार दोस्रो साता संक्रमित देखिएकामध्ये तीन जिल्लाका १२ स्थानका संक्रमित कतै पनि यात्रा नगरेका (ट्राभल हिस्ट्री नभएका) भेटिएपछि कोरोना कतै समुदायमा त प्रवेश गरेको होइन भन्दै शंका गरिएको थियो । ५ हजार जनालाई परीक्षण गर्दा समुदायमा नगएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले निष्कर्ष निकालेको थियो ।

ट्राभल हिस्टी नभएका संक्रमित भेटिएका स्थान र सर्वसाधारणको भीडभाड हुने कार्यालयमा कर्मचारी र सेवाग्राहीको समेत नमुना संकलन गरेर पीसीआर गरिएको थियो । ईडीसीडीले त्यस बेला ललितपुर महानगरको २५ वडामा १ सय ११, कोटेश्वरमा १ सय १३, टोखामा ८०, बोडेमा ३३, सहिद गंगालालमा ५०, शंखमूलका १ सय ४७, कपनका १ सय ४०, मैतीदेवीका २ सय, विमानस्थलका १ सय ६९ कर्मचारीको स्वाब संकलन गरेको छ । भक्तपुरको भोलाछें, काठमाडौंको टोखा, कागेश्वरी मनोहरा, नयाँ बजारमा पनि स्वाब संकलन गरेको थियो ।

उपत्यकामा अहिले दैनिक दुई सयको हाराहारीमा संक्रमित भेटिँदा पनि ईडीसीडीले समुदायस्तरमा परीक्षण दायरा बढाउन चासो देखाएको छैन । नेता र पहुँचवालाको घरघरमा पुगेर पीसीआर गर्न भने अझै रोकेको छैन । ईडीसीडीले पछिल्लो समय कहाँ–कहाँ परीक्षण गरिरहेको छ भन्ने सूचना दिनसमेत बन्द गरेको छ । ईडीसीडीका निर्देशक पाण्डेले आफूबाहेक अन्यलाई सूचना दिन बन्देज लगाएपछि पछिल्लो समय कहाँ–कहाँ परीक्षण भइरहेको छ भन्नेसमेत सीमित कर्मचारीबाहेक अरूले थाहा पाउँदैनन् । ‘समुदायस्तरमा परीक्षण गर्नुपर्नेमा पहुँचवालाको घरमा, टोलमा भनसुनका आधारमा स्वाब संकलन अझै रोकिएको छैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने, ‘तर संक्रमितका सीधा सम्पर्कमा भएको ट्रेसिङ भने हुन सकेको छैन ।’

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. मिङमार शेर्पाले कन्ट्याक्ट ट्रेसिङ हुन नसकेकाले हरेक समुदायमा कोरोना फैलिसकेको हुन सक्ने भन्दै परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने बताए । ‘अब सबै ठाउँमा भइसक्यो भनेर सोच्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङ गर्न सकेको छैन । त्यसैले समुदायमा परीक्षण गरेर अवस्था पत्ता लगाउनुपर्छ,’ उनले भने ।

कन्ट्याक्ट ट्रेसिङलाई मंगलबारदेखि प्रभावकारी बनाउने ईडीसीडीका निर्देशक डा. पाण्डेले बताए । ‘ट्रेसिङलाई प्रभावकारी बनाउन हामीले गाडी र जनशक्ति तयार गरिसकेका छौं,’ पाण्डेले भने, ‘संक्रमित भेटिएको टोलमा कम्तीमा १२ जनाको पीसीआर गर्दै छौं । स्थानीय तहको टोलीमा ईडीसीडीका कर्मचारी पनि थपिन्छन् । टोलीले निषेधाज्ञा अवधिभित्रै ट्रेसिङको काम सकाउँछ ।’

समुदायस्तरमा संक्रमणको अवस्था पत्ता लगाउन पीसीआरभन्दा पनि एन्टिबडी परीक्षण गर्न छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘पीसीआर गर्दा राज्यको स्रोतले धान्नै सकिँदैन,’ उनले भने, ‘समुदायका धेरै व्यक्तिको परीक्षण गर्ने र अवस्था पत्ता लगाउने उपयुक्त विधि एन्टिबडी हो ।’ ईडीसीडीका निर्देशक डा. पाण्डेले एन्टिबडी सेरोलोजिकल टेस्ट विश्वसनीय र भरपर्दो हुने भएकाले समुदायमा ठूलो समूहको परीक्षण गर्ने योजना बनेको बताए । आरडीटी विधिबाट परीक्षणको विश्वसनीयतामा प्रश्न उठेपछि सरकारले बन्द गरेको थियो । ‘एन्टिबडी परीक्षण गर्दा शरीरमा कोभिड भाइरस संक्रमण छ भने त्यसविरुद्ध एन्टिबडी विकास भएको पत्ता लाग्छ । पीसीआर गर्दा त कोरोना लागेको छ वा छैन मात्रै थाहा हुन्छ,’ डा. गौतमले भने । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्