२९ जेठ २०८३, शुक्रबार

नीलोलाई किन दुःखको रंग मानिन्छ ?

भदौ ९, २०७७
नीलोलाई किन दुःखको रंग मानिन्छ ?

रंगहरूले हाम्रो मनोविज्ञानमाथि गहिरो प्रभाव पार्छन् । कुनै रंगले हाम्रो दिमागलाई आनन्द दिन्छन् भने कुनै रंग देख्नेबित्तिकै हामीलाई दिक्क लाग्छ ।


नीलो रंगलाई दुःख र उदासीको रंग मानिन्छ । यसले हाम्रो मुडमा नकारात्मक प्रभाव पार्छ भनिन्छ । तर आकाश नीलो छ, समुद्रको पानी नीलो छ, भगवान् विष्णुको रंग नीलो छ भने कसरी यो रंग दुःखको कारण बन्न पुग्छ त ? यहाँ हामीहरू केही कारणका बारेमा चर्चा गर्नेछौं जसले नीलो रंगलाई दुःखसँग जोडेको छ ।

ग्रिसेली मिथ
ग्रिसेली मिथमा नीलो रंगलाई वर्षासँग जोडिएको छ । देवताका राजा जिउस आफ्ना भक्तहरूसँग रिसाउँदा धर्तीमा आँधीबेहरी आउँछ भन्ने ग्रिसेली मान्यता थियो । यसैगरी उनी दुःखी भएका बेलामा पृथिवीमा पानी पर्छ । त्यही भएर नीलो रंगलाई दुःखको भावनासँग जोडिन्छ ।

चोसरको कविता
अंग्रेजी साहित्यका आदिकवि जोफ्रे चोसरले सन् १३८५ मा लेखेको एक कविताको पंक्ति थियो, विथ टियर्स ब्लु एन्ड विथ अ वुन्डेड हार्ट (नीला आँसु र घाइते मुटुका साथ) । यस पंक्तिका अनुसार नीलो रंग दुःख, चिन्ता र पीडाको प्रतीक हो ।

पुरानो शब्दकोश
अ क्लासिकल डिक्स्नरी अफ द भल्गर टंग्सका अनुसार नीलो रंग पीडा र उदासीले भरिएको छ । यसका साथै यसलाई शैतानी आत्मासँग पनि जोडिएको छ । यसले भावनाहरूलाई खालीपनतिर धकेल्छ ।

अक्सफोर्ड डिक्स्नरीले चाहिँ ब्लुको उत्पत्ति ब्लो शब्दबाट भएको लेखेको छ । हाम्रो शरीरमा ब्लो अर्थात् चोट लाग्दा नीलो हुन पुग्छ । अक्सिजनको कमी हुँदा पनि शरीरको रंग नीलो हुन्छ । यो परिस्थिति खुशी दिनेखालको हुँदै होइन ।

सामुद्रिक परम्परा
समुद्रको यात्रा गर्नेहरूको जिन्दगीमा नीलो रंग राम्रो मान्दैनन् । जहाजले यात्रा सम्पन्न गरेर फर्किंदा यात्राका क्रममा भएको कुनै दुर्घटनाका कारण कप्तान वा कुनै अधिकारी बेपत्ता भएमा जहाजको मस्तुलमा नीलो रंगको झण्डा लगाउँथे । त्यसैले नीलो रंगलाई दुःख र पीडाका साथ जोडिन्छ ।

रंगहरूको विज्ञानमा बताइएअनुसार नीलो रंगलाई धेरै गाढा पार्दा यो कालोमा परिणत हुन्छ । कालो रंगलाई संसारका धेरै सभ्यता र संस्कृतिमा अशुभकारी दुःख र पीडादायक रूपमा बुझिन्छ । यसले डर र तनाव पनि जन्माउँछ भनिन्छ ।

तर वैज्ञानिकहरूका अनुसार रंगहरूको प्रभाव हाम्रो मनोविज्ञानमा पर्नुमा हाम्रै हात हुन्छ । कुनै पनि रंगलाई सकारात्मकताको साथ जोडेर हेर्दा त्यसले हामीमा सकारात्मक प्रभाव पार्छ । अनि यसको विपरीत पनि सत्य हो ।

salt training

कमेन्ट गर्नुहोस्