२४ जेठ २०८३, आइतबार

पोल भाडा नघटाए इन्टरनेट मूल्य बढाउने चेतावनी

भदौ ११, २०७७
पोल भाडा नघटाए इन्टरनेट मूल्य बढाउने चेतावनी

नेपाल विद्युत् प्राधिकरणले पछिल्लोपटक तय गरेको आफ्नो विद्युत् पोल र ओपीजीडब्ल्यू केबल भाडा पुरानो दरभन्दा २ सय प्रतिशत बढी भएको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले बुधबार प्राधिकरणले तय गरेको भाडादर महँगो भएको भन्दै स्वीकार्य नहुने निर्णय गरेको अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

प्राधिकरणले गत वर्ष विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर ४ सय प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । प्राधिकरणको निर्णयविरुद्ध इन्टरनेट सेवा प्रदायकले विरोध जनाउँदै भाडा नतिर्ने अडान लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा गत वर्ष अध्ययन समिति गठन भएको थियो । समितिले दिएको प्रतिवेदनलाई गत साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पारित गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिवेदनले प्राधिकरणले गत वर्ष तय गरेको भाडादर करिब आधा घटाउन सिफारिस गरेको थियो । ‘प्राधिकरणले गत वर्ष भाडा ४ सय प्रतिशत बढाउने निर्णय गर्दा पनि हामीले भाडा नतिर्ने अडान लिएर हालसम्म पुरानै भाडादर तय गरेका थियौं,’ भट्टले भने, ‘अहिले समितिको सिफारिसका आधारमा तय गरिएको भाडा दर पुरानो भाडा दरभन्दा २ सय प्रतिशत महँगो छ ।’

यो भाडादर कार्यान्वयन भए इन्टरनेटको मूल्य बढाउनुको विकल्प नभएको उनले बताए । ‘आइस्पानको बैठकले पहिला नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यही भाडादर कायम हुने हो भने मूल्य बढ्छ ।’ कोभिड–१९ का कारण इन्टरनेट ब्यान्डविथको खपत बढेको र सेवा प्रदायकको लागत बढेको बेला भाडा वृद्धि गर्नु जायज नहुने भट्टको तर्क छ । ‘हामीले १५–२० प्रतिशत मात्रै बढाउन अनुरोध गर्दै आएका थियौं,’ उनले भने, ‘एक्कासि २ सय प्रतिशत बढ्दा खर्चले धान्दैन ।’

कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बेला अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत २५ प्रतिशत बढेको छ । पछिल्लो समय टिकटकका कारण अन्तर्राष्ट्रिय ब्यान्डविथको माग झन् बढेकाले सेवा प्रदायकको सञ्चालन लागत बढिरहँदा पनि मूल्यवृद्धि नगरेको उनले बताए । ‘ब्यान्डविथ माग बढ्दा र अहिले टिकटकको क्यास सर्भर नहुँदा अन्तर्राष्ट्रिय ब्यान्डविथको माग बढ्दा पनि मूल्यवृद्धि गरेका छैनौं,’ उनले भने, ‘तर यस्तो बेलामा राज्यको निकायले नै २ सय प्रतिशत भाडा बढाएको हामीलाई स्वीकार्य हुन्न ।’ पछिल्लो समय आफ्नो सेक्युरिटी प्रोटोकल परिवर्तन गरेपछि टिकटक प्रयोगका कारण अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत पछिल्ला केही सातायता ह्वात्तै बढेको छ ।

केही महिनाअघिसम्म टिकटकले नेपालमा १३ जीबीपीएस ब्यान्डविथ खपत गरिरहेकोमा केही सातायता यसको माग १ सय ७५ जीबीपीएस पुगेको छ । टिकटकले आफ्नो सेक्युरिटी प्रोटोकल एचटीटीपीबाट एचटीटीपीएस बनाएपछि लोकल क्यास सर्भर राख्न असम्भव बनेको हो । जसका कारण टिकटकको सबै कन्टेन्टमा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत् भइरहेको छ ।

अर्याल संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनमा ओपीजीडब्ल्यू फाइबर भाइबर भाडामा लिई प्रयोग गरेबापत प्रतिवर्ष ३० हजार नबढ्ने गरी दर कायम गर्न सिफारिस गरेको छ । विद्युत् प्राधिकरण लाइनको ३३ केभी र ११ केभीका पोलहरूमा व्याकबोन केवल जडान गरेबापत टेलिकम, इन्टरनेट सेवा प्रदायक, केबल टीभी सेवा प्रदायकले ३० वर्षका लागि एकमुस्ट १ लाख तिर्दै आएकोमा आगामी दिनदेखि प्रतिकिमि प्रति केबल प्रतिवर्ष १० देखि १६ हजारभन्दा बढी नहुने गरी भाडादर तय गर्न पनि समितिले सिफारिस गरेको छ ।

समितिले प्रतिवेदनमा दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि नेपाल टेलिकम र विद्युत् प्राधिकरणले संयुक्त कम्पनी स्थापना गर्न पनि सिफारिस गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्