२३ जेठ २०८३, शनिबार

टर्की र ग्रीसबीच भूमध्यसागरमा झगडा, होला युद्ध ?

भदौ ११, २०७७
टर्की र ग्रीसबीच भूमध्यसागरमा झगडा, होला युद्ध ?

विगत केही हप्तादेखि पूर्वी भूमध्यसागरमा तनाव बढिरहेको छ । ऊर्जा स्रोतमाथिको नियन्त्रणमा प्रतिस्पर्धाबाट यसको आरम्भ भएको हो । 

टर्कीको जलसेनाले ग्यास खोजीको अभियान चलाएपछि विवाद उठेको हो । ग्रीसले यसमा आपत्ति उठाएको छ र फ्रान्स अहिले ग्रीसको पक्षमा छ । 

यसैबीच यूएईले ग्रीसलाई साथ दिन एफ–१६ विमान क्रिट एयरबेस पठाउने घोषणा गरेको छ । 

टर्कीका राष्ट्रपति रेजेप तैयिप एर्दोआन टर्की एक कदम पनि पछि नहट्ने बताइरहेका छन् । 

ग्यासको खोजी तात्कालिक कारण भए पनि समस्याका जराहरू निकै गहिरा छन् । ग्रीस र टर्कीबीच लामो समयदेखि चलिरहेको संघर्षको एक नयाँ अध्याय हो । 

यो क्षेत्रीय भूरणनीतिक प्रतिस्पर्धा हो । अन्य देशसामु एक्लो टर्की जोधाहा बनेको छ । यो क्षेत्र लिबियादेखि पूर्वी भूमध्यसागरपारि टाढासम्म फैलिएको छ । 

टर्कीविरुद्ध एकपछि अर्को देश पंक्तिबद्ध हुँदै जाँदा टर्कीलाई आफूलाई एक्ल्याइएको अनुभव गर्न थालेको छ । त्यसैले पनि टर्की बढी आक्रामक भएको छ । 

अमेरिकाले आफ्नो शक्तिप्रदर्शन घटाउँदै लगेको अनि ट्रम्प प्रशासनले यस क्षेत्रमा रुचि घटाएकाले क्षेत्रीय तनाव आएको हो । 

टर्कीले जमीनबाट हावामा मार हान्ने रुसी क्षेप्यास्त्र किन्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीलाई एफ–३५ लडाकू विमान कार्यक्रमबाट हटाएका थिए । 

टर्की नेटो सदस्य भए पनि सिरिया र अन्य क्षेत्रमा अमेरिकाले अपनाएको नीतिविरुद्ध उभिन्छ । तैपनि अमेरिकाले टर्कीमाथि त्यस्तो दबाब दिने गरेको छैन । 

अमेरिकाले कुनै ठोस कदम नउठाउँदा जर्मनीलाई ग्रीस र टर्कीबीच मध्यस्थताका लागि अघि सर्नुपरेको छ । 

तनाव ग्यासका कारण बढेको हो । त्यहाँ महत्त्वपूर्ण ग्यास क्षेत्र पाइएका छन् वा सक्रिय रूपमा खोजी जारी छ । 

ग्यासका कारण यस क्षेत्रका देशहरूबीच प्रतिस्पर्धा छ । अनि जलसीमा निर्धारणका विषयमा पनि विवाद छ । कसको क्षेत्र कति हो भन्नेमा मतभेद छ ।

अधिकारलाई मान्यता दिने विषयमा भएका सम्झौताले तनाव झनै बढाएका छन् । 

पोहोर साल टर्कीले लिबियाको नेसनल अकोर्ड सरकारसँग समुद्री सम्झौतामा हस्ताक्षर गरेको थियो । ग्रीसले आफ्नो मान्ने गरेको क्षेत्रमा ग्यास खोजी अभियान गर्न टर्कीले सम्झौता गरेको थियो । 

यसै महिनाको आरम्भमा ग्रीस र इजिप्टले समुद्री सीमा सम्झौतामा हस्ताक्षर गरे । 

टर्की यसबाट क्रुद्ध भयो र उसले आफ्नो जलसेनालाई नयाँ खोजी अभियानमा तैनाथ गरिदियो । 

ऊर्जाको खोजले यस क्षेत्रमा तनाव बढाएको हो । लामो समयसम्म यो क्षेत्र वायु र जलसेना हतियारको प्रतिस्पर्धाको थलो पनि बन्ने सम्भावना छ ।

टर्कीले आक्रामक परराष्ट्रनीति अपनाएर पुरानो ओट्टोमन साम्राज्यको झलक दिन खोजेको छ । राष्ट्रपति एर्दोआनले भौगोलिक क्षेत्रको विस्तार गरेका छन् । 

उनको एकेपी दलले टर्कीको अर्थतन्त्रको उपयोग क्षेत्रीय वर्चस्व बढाउनका लागि गरे । 

तर केही समययता टर्कीको अर्थतन्त्र सुस्त भएको छ । तैपनि एर्दोआनले पछि हट्ने संकेत दिएका छैनन् । 

टर्की सरकारको ब्लू होमल्यान्ड अर्थात् सामुद्रिक क्षेत्रमाथिको आधिपत्य सिद्धान्तले टर्कीलाई जलमार्गको प्रमुख भूमिका दिलाउन खोजेको छ । 

त्यसैले भूमध्यसागर अहिले तनावको केन्द्र बनेको छ । यस तनावलाई मत्थर पार्ने सामर्थ्य कसको छ भन्ने स्पष्ट छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्