२६ जेठ २०८३, मंगलबार

म एक्लैले लोडसेडिङ अन्त्य गरेकाे होइन- कार्यकारी निर्देशक कुलमान

म एक्लैले लोडसेडिङ अन्त्य गरेकाे होइन- कार्यकारी निर्देशक कुलमान
फाइल फोटो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई अर्को कार्यकालको पुन: नियुक्तिका विषयमा गलत समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन्।

उनले बिहीबार विज्ञप्ति जारी गरी यो विषयमा प्रधानमन्त्री केपी ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न भनेका हुन्।

उनले लोडसेङि पनि आफू एक्लैले अन्त्य नगरेको बताएका छन्। लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन बिना सम्भव नभएको उनले बताएका छन्।

प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसलाले लोडसेडिङको अन्त्य भएको घिसिङको भनाइ छ।

घिसिङलाई मन्त्रिपरिषद्को ०७३ भदौ २९ गते कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो। उनको कार्यकाल यही भदौ २९ गते सकिँदैछ।

यस्ताे छ विज्ञप्ति


नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।

मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन्।

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु ।

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण
दरबारमार्ग, काठमाडौं ।
मिति : २०७७-०५-११ बिहीबार ।

salt training

कमेन्ट गर्नुहोस्