०५ असार २०८३, शुक्रबार

सातवर्षदेखि डोरीले बाँधेर राखिएका छन् रक्की

कात्तिक २०, २०७४
सातवर्षदेखि डोरीले बाँधेर राखिएका छन् रक्की

कञ्चनपुर, २२ वैशाख–  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ९ वर्षीय रक्की सुनारलाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्कको राम्रो विकास नभएका सुनारलाई परिवारजनले २ वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् ।

‘जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आएका छौँ,’ रक्किकी बज्यै (हजुरआमा) हिरादेवी सुनारले भनिन्, ‘पहिले आमा, बुबा भनेर बोल्थ्यो, हाल बोल्नसमेत नसक्ने अवस्थामा छ ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले सामान्य उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगेपनि ठीक हुन नसकेको उनले बताइन् ।

एक कट्ठा ऐलानी जग्गामा बनेको छाप्रोमा बस्दै आएको सुनार परिवारसँग कमाई खाने जग्गा नहँुदा घरका महिलाले दैनिक दाउरा बिक्री गरी साँझ–बिहानको छाक टार्दै आएका छन् ।

रक्कीका बुबा रमेश कहिलेकाहीँ मजदुरी गर्न भारततर्फ जाने गरेका छन् । ‘दाउरा बिक्री गरेको पैसाले खानलाई त पुग्दैन,’ हिरादेवीले भनिन्, ‘उपचार खर्च गर्नका लागि पैसा चाहिन्छ त्यो हामीसँग छैन ।’ जथाभावी दिसापिसाब गर्ने भएकाले रक्कीलाई परिवारजनले खानपिनमा पनि ध्यान नदिँदा उनको शरीरसमेत सुक्दै गएको छ ।

‘कुपोषणका कारण आँखा भित्र पसेका छन्, हातखुट्टा पूरै सुकेका छन् । हाड र छाला मात्रै बाँकी छ,’ समाजसेवी कमल विकले भने, ‘चाँडै उपचार नपाए ज्यान जाने खतरासमेत छ ।’

बन्धनमुक्त गरी उपचार गरिदिने दाताको खोजीमा रहेको उनले बताए । ‘परिवारको आर्थिक अवस्था दयनीय भएकाले दाताले सहयोग जुटाए ९ वर्षीय बालकको ज्यान बच्ने थियो,’ उनले भने । राम्रो अस्पतालमा उपचार पाए उनी ठीक हुने भएकाले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैको हातेमालो जरुरी रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्