२५ जेठ २०८३, सोमबार

विद्युतभार कटौतीको अन्त्य सरकारको योजनामै भएको हो- कार्यकारी निर्देशक घिसिङ

विद्युतभार कटौतीको अन्त्य सरकारको योजनामै भएको हो- कार्यकारी निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युतभार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको बताएका छन्।

उनले विद्युतभार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताए।

घिसिङले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विद्युतभार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामुलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन्।' 

उनले आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक व्यक्तिको प्रयासबाट मात्रै विद्युतभार कटौतीको अन्त्य गरी संस्थालाई मुनाफामा लैजानेलगायतका उपलब्धी हासिल गर्न सम्भव नभएको विज्ञप्तीमा उल्लेख गरेका छन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई चार वर्षका लागि नियुक्त गरेको थियो।

कार्यकारी निर्देशक घिसिङले अर्को कार्यकालका लागि पुनः नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओली  र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनलाई जोडेर विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति गुनासो गरेका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो गलत अकाउण्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। 

उनले आफ्नो अर्को कार्यकालको पुनःनियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफुलाई जोडेर आधारहिन तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिन अनुरोध गरे।

प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धी हासिल भएको घिसिङले जारी गर्नुभएको  विज्ञप्तीमा उल्लेख छ। 

salt training

कमेन्ट गर्नुहोस्