
चीनले दक्षिण चीन सागरको विवादित क्षेत्रमा एकीकृत सैन्य अभ्यासका क्रममा युद्धपोत ध्वस्त पार्ने ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । अमेरिकालाई चेतावनी दिनका लागि नक्कली अमेरिकी युद्धपोतमा प्रहार गरिएको बताइएको छ ।
वाशिङटनले २४ वटा चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि र दक्षिण चीन सागरमा निर्माण तथा सैन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई तारो बनाएपछि चीनले बुधवार उक्त प्रहार गरेको हो ।
अनि अमेरिकाले हवाईमा वार्षिक रिमप्याक सैन्य अभ्यासको समापन गर्न लागेको अवसरमा पनि चीनले क्षेप्यास्त्र प्रहार गरेको हो । उक्त अभ्यास संसारकै सबभन्दा ठूलो जलक्षेत्र अभ्यास हो जसमा १० देशका जलसेना सहभागी छन् ।
चीनमाथि अमेरिकाले दबाब बढाउँदै लगेकाले प्रतिक्रियास्वरूपले बेइजिङले क्षेप्यास्त्र प्रहारको सिलसिला चलाएको विज्ञहरू बताउँछन् । अनि चीनले आफ्नो नजिकको क्षेत्रमा अमेरिका तथा अन्य देशका सैनिकहरूलाई हस्तक्षेप गर्नबाट रोक्नका लागि एन्टी–एक्सेस, एरिया डिनायल क्षमता बढाइरहेको पनि यसमार्फत देखाउन खोजेको हो ।
‘रिमप्याक चलिरहेका बेलामा यी क्षेप्यास्त्र परीक्षण गरेर चिनियाँ जनमुक्ति सेनाले अमेरिकीहरूलाई देखाइदिन खोजेको स्पष्ट छ,’ सिंगापुरको थिंकट्यांक इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजका वरिष्ठ फेलो इवान ग्राहमले भने ।