
तात्दै सरकार, थपिँदै आइसोलेसन बेड : केन्द्रमा हजार, प्रदेशमा २ हजार र स्थानीय तहमा ३ हजार !
सरकारले पछिल्लो समय स्थानीय पालिकादेखि केन्द्रीय अस्पतालहरूसम्म बेड थपिरहेको छ ।
कोरोना महामारी उत्कर्षमा पुग्ने निष्कर्षसहित आइसोलेसन बेडको संख्या बिस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बताएका छन् ।
उनले केन्द्रीय अस्पतालमा १ हजार बेड थप गरिएको, प्रदेशका अस्पतालहरूमा १९ सय ७५ बेड थपिएको र ६ सय ४९ स्थानीय तहमा प्रत्येकमा ५ को हिसाबले ३ हजार २ सय ४५ बेड थपेको बताएका हुन् ।
‘यी सबै बेडहरू जनशक्तिसहितका हुन्,’ उनले भने ।
केही दिनअघि संसदीय समितिले सरकारलाई देशभर बेडको संख्या बढाउन निर्देशन दिएको थियो । त्यसपछि सरकारले प्रत्येक प्रदेशलाई २/२ करोडका दरले निकासासमेत गरेको थियो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ ले गुमाए ज्यान
कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएको र हालसम्म १९५ को कोरोनाका कारण निधन भएको जानकारी दिएका छन् ।
डा. गौतमले ४ जना महिला र ८ जना पुरुषको निधन भएको बताएका हुन् ।
मोरङका ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया महिला र मकवानपुरकी ७१ वर्षीया महिलाको निधन भएको हो ।
त्यस्तै उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, सिराहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष र चितवनका ५१ वर्षीय पुरुषको निधन भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ कोरोना संक्रमित थपिए, देशैभर ९ सय २७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ सय २७ रहेको जनाएको छ ।
शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण भएकोमा ९ सय २७ मा संक्रमण देखिएको बताएका हुन् ।
यससँगै काठमाडौँ उपत्यकामा मात्र ४ सय १५ जना संक्रमित भेटिएका छन् ।
काठमाडौँ जिल्लामा ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका हुन् ।
नेपालमा हालसम्म ३६ हजार ४ सय ५६ मा संक्रमण भइसकेको छ भने हालसम्म २० हजार २ सय ४२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
डा. गौतमले पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ६९ रहेको बताए ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । तीमध्ये होम आइसोलेसनमा ६ हजार ४ सय ४६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ५ सय ७३ रहेको छ ।
नेकपा सचिवालय बैठक भदौ १८ गतेसम्म स्थगित
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवार बोलाइएको सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ ।
सचिवालय सदस्यहरू सहभागी रहेका केही कार्यक्रममा सहभागी हुनेहरूलाई कोरोना संक्रमण देखिएपछि सचिवालय बैठक स्थगित भएको नेकपा स्रोतले जानकारी दियो ।
नेकपाभित्र झण्डै ७ महिनादेखि जारी विवाद समाधानका निम्ति कार्यदल बनाइएको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको कार्यदलले १७ पृष्ठ लामो प्रतिवेदन दुवै अध्यक्षलाई बुझाइसकेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै केही दिन प्रतिवेदन अध्ययन गरिसकेपछि सचिवालय बैठकमा रायसहित प्रस्तुत हुने तयारीमा थिए ।
शुक्रवार नै अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल पनि भएको थियो ।
प्रतिष्ठित उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
प्रतिष्ठित उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले शुक्रवार ट्वीट गर्दै यस्तो जानकारी गराएका हुन् ।
आफूमा कोरोना पोजेटिभ देखिएको तर, लक्षण कुनै नदेखिएको चौधरीले ट्वीटमार्फत जानकारी गराएका छन् ।
संक्रमण पुष्टि भएसँगै आइसोलेट भएका चौधरीले आफ्नो सम्पर्कमा आएकाहरूलाई सम्भावित जोखिमबाट जोगिन अपिल गरेका छन् ।
चौधरी फोर्ब्सको सूचीमा परेका नेपालका एकमात्र डलर अर्बपति हुन् ।