२८ असार २०८३, आइतबार

सुनवलका भरत थापा : सफल व्यवसायीदेखि मनकारी मेयरसम्म

भदौ १३, २०७७
सुनवलका भरत थापा : सफल व्यवसायीदेखि मनकारी मेयरसम्म

जनप्रतिनिधिहरू जनताको कामभन्दा पनि आफ्नै तलब सुविधामा लिप्त हुने गरेका गुनासा सुनिन्छन् । मासिक तलबलाई सर्वाेच्च अदालतले अवैध मानेपछि प्रदेश सरकारले शीर्षक परिमार्जन गरेर अनेक शीर्षकमा सुविधा लिन पाउने बाटो खोलिदिएको छ ।

परिमार्जित शीर्षकबाटै जनप्रतिनिधिले पुनः सेवासुविधा लिइरहेका छन् । जनप्रतिनिधि तलब भत्तामै लिप्त भएको आलोचना सुनिए पनि केही जनप्रतिनिधि भने आफूले पाउने सेवा सुविधालाई सामाजिक कार्यमा लगाएर उदाहरणीय कार्य गरिरहेका छन् ।

उदाहरणीय कार्य गर्ने जनप्रतिनिधिभित्रै पर्छन्, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा । ‘भरत’ नामले परिचित मेयर थापाले निर्वाचित भएलगत्तै आफूले पाउने तलब भत्ता सामाजिक कार्यमा लगाउने उद्घोष गरेका थिए । सोही अनुरुप उनले हालसम्म (३ वर्ष) को तलब सुविधा सामाजिक कार्यमा लगाएका छन् । 

तलब भत्ता मात्र होइन, व्यक्तिगत खर्चमा समेत थापाले थुप्रै सामाजिक काम र असहायलाई सहयोग गर्दै आएका छन् । तलब भत्ताबापत उनले २०७७ साउन मसान्तसम्म १६ लाख २४ हजार रुपैयाँ बुझेका छन् । बुझेको रकममध्ये ८ लाख २१ हजार रुपैयाँ सुनवल स्वास्थ्य चौकीलाई उपलब्ध गराएका छन् । उनी विपन्न मजदुरलाई रिक्सा खरिद, किरीया खर्च, मिर्गाैला उपचारका बिरामीलाई समेत सहयोग गर्दै आएका छन् । ज्येष्ठ नागरिकलाई तीर्थाटन गर्न १ लाख रुपैयाँ रकम उपलब्ध गराएका छन् ।

मेयर थापाले १ लाख ३ हजार रुपैयाँ नगरपालिकाको कोभिड कोषमा जम्मा गरेका छन् । तलबलाई अदालतले अवैध भनेपछि रोकिएको ९ महिनाको रकम विभिन्न शीर्षकमा लिन पाइने प्रावधान राखिएपछि पत्रपत्रिका, इन्धन, दशैं खर्च लगायतबाट आएको ७ लाख ९३ हजार रुपैयाँ नगरपालिकाको कोषमा जम्मा गरेको उनले बताए । बाहिर कार्यक्रममा जाँदाको भत्ता र यातायात खर्च समेत उनले लिँदैनन् । आफू तलब भत्ताभन्दा पनि जनताको सेवाका लागि आएकाले सुविधाबापत पाउने रकम सामाजिक कार्यका लागि खर्च गरेको उनले बताए ।

‘जिल्लाबाहिर जाँदा पाउने यातायात खर्चसहित भत्ता सुविधा बापतको रकम मैले नगरपालिकामा पेश गरिनँ तर महालेखा परीक्षकको कार्यालयबाट आउने लेखापरीक्षकले भत्ता नबुझेपछि मेयरले कामै नगरेको देखिने बताएपछि रकम लिएँ,’ उनले भने । कानूनतः रकम नबुझेपछि कामै नदेखिने भएपछि यातायात र भत्ताबापत आउने रकम आफूले नगरपालिकाको खातामा जम्मा गरेको थापाले बताए । अब पाउने रकम समेत शिक्षा, स्वास्थ्य र विपन्नको सहयोगमा खर्चिने नगर प्रमुख थापाले बताए ।

कोभिड नियन्त्रणमा उदाहरणीय कार्य

कोभिडको जोखिम बढ्न थालेपछि जिल्लाका ७ स्थानीय तहमध्ये पहिलो पटक उनले १०० शय्याको क्वारेन्टीनको निर्माण गरेका थिए । प्रहरी युक्ति तालिम महाविद्यालय जगार्हामा निर्माण गरिएको क्वारेन्टीनपछि महाकवि देवकोटा क्याम्पसमा सारिएको थियो । क्वारेन्टीनमा आवश्यक पर्ने खाना समेत स्थानीयले पालैपालो खुवाए । समुदायस्तरको क्वारेन्टीन जिल्लामै पहिलो थियो । 

संक्रमितहरू देखिएपछि प्रदेश सरकारको नीतिअनुसार २५ शय्याको आइसोलेसन समेत जिल्लामै पहिलो पटक निर्माण गरे । आइसोलेसन निर्माणमा अन्य पालिकाले ११ लाख रुपैयाँ खर्च गरिरहँदा थापाले भने १ लाख ३८ हजार रुपैयाँमा टेलिभिजन र वाईफाई सहितको आइसोलेसन निर्माण गरे । आइसोलेसनमा आवश्यक पर्ने बेड नगरपालिकाबाट खरिद गरेनन् । बुटवलको एक स्वास्थ्य संस्थाबाट सहयोग मागेर बेडको व्यवस्था गरे । डाक्टर सहितको आइसोलेसनमा अहिले पनि संक्रमितले उपचार गराइरहेका छन् ।

सफल व्यवसायीदेखि मनकारी मेयरसम्म

उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्ष समेत रहेका मेयर थापा अहिले उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत छन् । नेपाली कांग्रेसबाट निर्वाचित मेयर थापा नवलपरासीका सफल व्यवसायीका रूपमा समेत चिनिन्छन् । मेयर थापाको प्रमुख एजेन्डा आर्थिक समृद्धिमार्फत् नगरको विकास गर्ने छ । 

महिलाहरू व्यवसायी नबनेसम्म नगरको विकास नहुने भन्दै निर्वाहमुखी व्यवसाय नभई दीर्घकालीन योजना सहितका कार्यक्रममार्फत् आर्थिक विकासमा आफू सक्रिय रहेको थापाले बताए । नेपालमै पहिलो बालमैत्री नगर घोषणा भएको सुनवललाई महिला मैत्री बनाउँदै क्रमशः नेपालमै नमूना नगरपालिका बनाउने योजना रहेको थापाले बताए ।

पहिला राजनीतिमा खासै रुची नराख्ने थापा पछिल्लो पटक आर्थिक विकासका लागि राजनीति पनि आवश्यक रहेका महसूस गरेर राजनीतिमा प्रवेश गरेको बताउँछन् । २०४८ सालमा नेविसंघबाट राजनीति शुरू गरेका थापा धेरै वर्ष उद्योग सञ्चालनमै व्यस्त रहे । 

उद्योग र व्यवसायसँगै सामाजिक क्षेत्रमा लाग्न थालेपछि राजनीतिमा पनि रुचि बढेको थापाले बताए । नीति निर्माणमा उद्योगी व्यवसायीको प्रतिनिधित्व नभएसम्म आर्थिक एजेण्डाले प्राथमिकता नपाउने र विकासले गति लिन नसक्ने भन्दै थापा २०६६ सालदेखि कांग्रेसको राजनीतमा सक्रिय हुन थालेका हुन् । ४७ वर्षीय थापाका तिरुपति टायर, तिरुपति मार्ट, उद्योग, मैदा उद्योग, इँटा उद्योग, रबर उद्योग, पेट्रोल पम्प लगायत १० बढी उद्योग छन् ।

salt training

कमेन्ट गर्नुहोस्