शुक्रवार निधन भएका अमेरिकी अभिनेता च्याडविक बोसम्यानको मृत्युको खबर दिने एक ट्वीटले ट्विटरकै इतिहासमा सबभन्दा धेरै लाइक पाएको छ ।
४३ वर्षका बोसम्यान विगत चार वर्षदेखि कोलोन क्यान्सरबाट पीडित थिए । उनको निधनको दुःखद खबर उनकै आधिकारिक ट्विटर अकाउन्टमा औपचारिक बयानमार्फत दिइएको थियो ।
‘सच्चा संघर्षशील व्यक्ति च्याडविकले धेरै कुरा सहे अनि तपाईंलाई मन पर्ने अनेकौं चलचित्र ल्याए,’ ट्विटर अकाउन्टमा लेखिएको छ । ‘मार्शलदेखि दा फाइभ ब्लड्ससम्म, अगस्ट विल्सनको मा रेनीज ब्ल्याक बटम र अन्य धेरै चलचित्रहरू शल्यक्रिया र केमोथेरापी चल्दै गर्दा छायांकन गरिएका हुन् ।’
शुक्रवार साँझ बोसम्यानको संस्थाले उनको अकाउन्टमा पोस्ट गरेको ट्वीटले यो समाचार तयार पार्दासम्म ६४ लाखभन्दा बढी लाइक पाइसकेको छ । उक्त ट्वीटको तीस लाख रिट्वीट भएको छ ।
ट्विटरले आफ्नो इतिहासमा सबभन्दा बढी लाइक पाउने ट्वीट यही भएको जानकारी दिएको छ ।
Most liked Tweet ever.
A tribute fit for a King. #WakandaForever https://t.co/lpyzmnIVoP— Twitter (@Twitter) August 29, 2020
बोसम्यानको सबभन्दा चर्चित भूमिका सन् २०१८ मा आएको फिल्म ब्ल्याक प्यान्थरमा थियो । उनलाई सन् २०१६ मा पहिलोपटक क्यान्सर देखिएको थियो ।