
सरकारले श्रम गन्तव्य मुलुकमा अलपत्र नेपाली कामदारलाई ल्याउन अन्तर्राष्ट्रिय उडान थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोनाबाट रोजगारी गुमाएका नेपालीलाई स्वदेश आउन सहज होस् भनेर त्यस्तो निर्णय लिएको एक मन्त्रीले बताए ।
बैठकले नेपाली कामदारलाई काठमाडौंसम्म ल्याउन चाहने कम्पनीलाई उडानको अनुमति दिने पनि निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय उडानमा कोटा प्रणाली लागू गरेको थियो । उक्त व्यवस्थालाई लिएर श्रमिक तथा खाडीलगायत मुलुकका राजदूतहरूले असन्तुष्टि जनाएका थिए ।
ती मन्त्रीका अनुसार बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय उडान थप्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले सीसीएमसीले लगाएको कोटा प्रणालीको चौतर्फी विरोध भएको र सोहीअनुसार अघि बढ्दा अलपत्र कामदारको उद्धारमा ढिलाइ हुनेसमेत बताएका थिए ।
‘अब अन्तर्राष्ट्रिय उडान संख्या बढ्ने भयो । अनिवार्य पीसीआर परीक्षण हुने मुलुकका लागि अन्तर्राष्ट्रिय उडान संख्या बढाइनेछ,’ ती मन्त्रीले भने, ‘जुन कम्पनीले आफूले सबै खर्च (हवाई टिकट, पीसीआर परीक्षण र काठमाडौंको क्वारेन्टाइन खर्च) बेहोर्ने भनेर नेपाली कामदार पठाउने भन्छ, उसका हकमा त्यो खुला गरिदिने निर्णय भएको छ ।’
विभिन्न मुलुकका रोजगारदाता कम्पनीले नेपाली कामदारलाई स्वदेश फर्काइदिने तर त्यसका लागि उडानको समस्या रहेको बताउँदै आएका थिए । उनीहरूले नेपाल सरकार र दूतावासहरूलाई उडानको अनुमति दिन आग्रह गर्दै आएका थिए । अन्तर्राष्ट्रिय उडान संख्या थपिँदा र नेपाली श्रमिकलाई रोजगारदाता कम्पनीले नै काठमाडौं ल्याइदिने भएपछि हवाई टिकटको मूल्यसमेत घट्नेछ ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरूलाई आवागमन खुला गरिए त्यस्ता देशका लागि मात्र श्रम इजाजत खोल्ने निर्णय पनि गरिएको छ ।
यस्तै, मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाई उडान सञ्चालनमा भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ बाट खुला गर्ने निर्णयलाई भदौ १५ सम्मका लागि स्थगित गरिएको थियो ।
कोरोना संक्रमितको संख्या बढिरहेको र काठमाडौं उपत्यकासहित देशका ३ दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो ।