दक्षिण कोरियाको राजधानी सौल नजिक रहेको एक सैन्य अड्डातर्फ गइरहेको अमेरिकी सशस्त्र वाहनमा चारजना मानिस चढेको एक कार ठोकिन पुगेपछि कारमा रहेका सबैको ज्यान गएको छ ।
एक अमेरिकी सैनिकलाई सामान्य चोटपटक लागेको छ ।
दुर्घटना पोचियोन शहरमा आइतवार अबेर राति भएको योन्हाप समाचार संस्थाले खबर दियो ।
चारजना सर्वसाधारण चढेको कारले अमेरिकी सैन्य वाहनको पछाडिको भागमा ठोकेको बताइएको छ । अमेरिकी गाडी उत्तर कोरियासँगको सीमामा रहेको चिओरवोनस्थित सैन्य अड्डातर्फ गइरहेको थियो ।
मृतक चारैजना ५० भन्दा बढी उमेरका थिए । दुर्घटना हुनेबित्तिकै उनीहरूलाई अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भयो ।
दुर्घटनाको तस्वीर हेर्दा यात्रुवाहक कारको अघिल्लो भाग नराम्ररी कुच्चिएको र सडकमा पाटपुर्जा छरिएको देखिन्छ ।
घटना योङ्ग्रो पुलमा भएको हो । एसयूभी कार तीव्र गतिमा रहेको र चालकले सेनाको सशस्त्र वाहनलाई नदेखेकोले ठोकेको प्रहरीको विश्वास छ ।
कार चलाउने व्यक्तिको शरीरमा अल्कोहल थियो कि भनी प्रहरीले जाँच गर्न खोजेको छ ।
अमेरिकी सैनिकहरू एउटा अभ्यास सकेर अड्डातिर फर्किंदै थिए र उनीहरूलाई खासै केही भएन । एक सैनिकलाई चाहिँ हल्का चोटपटक लागेकाले अस्पताल लगिएको थियो ।