
पछिल्लो १ हप्तादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ ।
भदौको शुरूआती हप्ता लगातार घटेको सुनको मूल्य पछिल्लो ३ दिनदेखि निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ । महासंघले मंगलवारका लागि छापालाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ पुगेको छ ।
सोमवार छापावाला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम गरिएको थियो । चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३९५ पुगेको छ ।
शुक्रवार ६९ हजार ९०० रुपैयाँमा झरेको सुनको मूल्य आइतवार बढेर प्रतितोला ९७ हजार २०० र सोमवार ९७ हजार ५०० पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।