१२ असार २०८३, शुक्रबार

संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ : नेता सिंह

भदौ १६, २०७७
संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री  मंगलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा मंगलवार आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापन कार्यक्रममा उनले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

नेता सिंहले स्व. सिंह नेपाली महिलाको अधिकारका लागि आवाज उठाउने तथा उनीहरूको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला भएको उल्लेख गरे । पार्टीको १४ औं महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन् । केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । ‘संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ,’ उनले भनिन् ।

केन्द्रीय सदस्य एवं गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा  सिंहको महत्त्वपूर्ण भूमिका रहेको बताए । केन्द्रीय सदस्य कमला पन्तले संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भए पनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको उल्लेख गरिन् ।

‘नेपाली महिलाहरू पार्टीभित्र एक ठाउँमा उभिन सके मात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौं,’ उनले भनिन् । केन्द्रीय सदस्य पुष्पा भुसालले सिंह कांग्रेसको मात्र नेता नभई नेपाली सबै महिलाको नेता भएको उल्लेख गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्