
चीनले अरुणाचल आफ्नो क्षेत्र रहेको दाबी गरेको छ।
अरुणाचलको सीमामा चिनियाँ सेनाले ५ भारतीयको अपहरण गरेको भनिएको घटनामा भारतका केन्द्रीय मन्त्री किरेन रिजिजूले प्रश्न सोधेका थिए। चीनले यसको कडा जवाफ दिएको हो।
चीनले अरुणाचल भारतको क्षेत्र नभइ आफ्नो दक्षिणी तिब्बतको इलाका रहेको बताएको हो।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चीनका विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिएंगले भनेका छन्, ‘चीनले कहिल्यै पनि ‘कथित’ अरुणाचल प्रदेशलाई मान्यता दिएको छैन। यो चीनको दक्षिणी तिब्बतको इलाका हो।’
भारतीय सेना र त्यस क्षेत्रमा ५ जना भारतीय बेपत्ता रहेको भनेर प्रश्न आए पनि यो बारेमा चीनलाई कुनै जानकारी नरहेको उनले बताएका छन्।
भारतीय सेनाले अरुणाचल प्रदेशको ऊपरी सुबनसिरी जिल्लाबाट ५ जना अपहरणमा परेको दाबी गरेको छ। भारतीय सेनाले ‘पीपुल्स लिबरेशन आर्मी’ (पीएलए) का सैनिकले अपहरण गरेको दाबी गरेपनि चीनले अस्वीकार गरेको हो।