
अमेरिका आजको दिनसम्म संसारलाइ प्रभाव पार्न सक्ने मुख्य राष्ट्र भएकै कारण प्रत्येक ४ वर्षमा आउने अमेरिकी राष्ट्रपति निर्वाचनमा संसारको चासो हुने गर्दछ । आर्थिक र प्राविधिक रूपले शक्तिसम्पन्न र रणनीतिक रूपले प्रभावशाली राष्ट्रमा प्रणालीले काम गर्छ भनेर धेरैले भन्ने गरे पनि राष्ट्रपति निर्वाचित हुने व्यक्तिले सो प्रणालीमा दह्रोसँग प्रभाव पार्ने भएकाले पनि यो निर्वाचनमा सारा संसारको आँखा जानु स्वाभाविक हो ।
बहालवाला राष्ट्रपति ट्रम्पको व्यक्तिगत छवि र कार्यशैलीमा पूरै अमेरिकाको एकमत छैन । उनी इमान्दार नभएको, अमेरिकी जनताप्रति गरेका वाचा पूरा नगरेको, रुखो बोली बोलने, रंगभेदी र सन्की छन् भनेर उनलाई मन नपराउनेले भन्छन्, जुन आंशिक सत्य पनि हो । अर्काेतर्फ जो बाइडेन अपरिपक्व, कमजोर, अस्वस्थ, लेफ्टिस्टको पपेट भनेर अमेरिकामा चिनिन्छन् ।
कोरोना संकट हुँदैन्थ्यो र अमेरिका सोही रफ्तारमा अगाडि बढ्थ्यो भने सायद आज ट्रम्पलाई डेमोक्र्याटिक्सले केही पनि गर्न सक्दैन्थ्यो । तर कोरोनाले विद्यमान परिस्थितिमा ल्याएको परिवर्तनले अमेरिकी निर्वाचन २०२० को परिणाम अनिश्चित बनाइदिएको छ ।
महाअभियोगको सामना गरिसकेका ट्रम्पको दोस्रो कार्यकालको निर्वाचन समय नजिकिँदै गर्दा प्रकाशित अधिकांश सर्वेक्षणले ट्रम्पले यो निर्वाचन हार्ने भनिरहेका छन् । अमेरिकी राष्ट्रपतिको कामको मूल्यांकन अमेरिकी जनताको रोजगार र सुरक्षाको आधारमा नै गर्ने हो । ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी श्रम बजार औसतमा ३.५% बेरोजगार दरमा स्थिर रहेको थियो, जुन दशकौं पछिको उत्कृष्ट आँकडा थियो ।
कोरोना संकट शुरू भएपछि बाध्य भएर गरिएको लकडाउनपछि २०२० अप्रिल महिनामा सबैभन्दा धेरै १४.७% अमेरिकी बेरोजगार हुन पुगे भने स्थिति बिस्तारै सामान्यीकरण हुने क्रममा अहिले अमेरिकी बेरोजगारी दर १०% भन्दा कम भइसकेको छ । सन् १९८० मा जिम्मी कार्टर र १९९२ मा जर्ज बुसले दोस्रो पटकको कार्यकालका लागि पराजित हुँदा बेरोजगारी दर ८% रहेको थियो । अर्काेतर्फ अमेरिकामा कोरोनाको कारण लगभग २ लाख व्यक्तिले ज्यान गुमाए, जुन अमेरिकाको भियतनामसँग युद्ध हुँदा गुमाएको सैनिक संख्याभन्दा दोब्बर हो । १९६८ को अमेरिकी निर्वाचनमा लिन्डन जोनसनले यही कारण पुनः निर्वाचित हुन पाउने अवसर गुमाए । यसरी ऐतिहासिक आँकडाले ट्रम्प हार्ने नै देखाउँछ । तर के ट्रम्प हार्ने नै छन् त ? यसलाई निम्न प्रकरणमा विभाजन गरेर आकलन गर्न खोजिएको छ ।
अमेरिकी निर्वाचनको सर्वेक्षण गलत र प्रायोजित हुने परिपाटी
४ वर्षअघि हिलारी विस्कनसिन, मिचिगन र पेन्सिल्भानियामा ट्रम्पमाथि अधिकतम ९ अंकले भारी भइरहेका यी सर्वेक्षणले देखाएको थियो । तर निर्वाचनमा ट्रम्पले ती सबै राज्यमा विजय प्राप्त गरेका थिए । अहिले पनि बाइडेनले ६ अंकले ट्रम्पमाथि भारी भइरहेको सर्वेक्षण सार्वजनिक गरे पनि त्यो उल्टिएमा कुनै आश्चर्य हुने छैन । अझ हिलारीले जित्ने कुरामा प्रायः सबै सर्वेक्षण प्रक्षेपण गरिरहँदा ट्रम्पको विजयले ती सर्वेक्षणको विश्वसनीयतामा शंका गर्ने आधार दिएको छ । अमेरिकाको चुनावी सर्वेक्षणको २०१६ का रोचक नतिजामा प्रति ३ जनामा १ जनाले मात्र ट्रम्प ईमान्दार र विश्वसनीय भएको, प्रति ५ जनामा २ जनाले ट्रम्पलाई मन पराउने र बढीमा ३५% जनताले उनी राष्ट्रपति बन्न सुयोग्य रहेको कुरा बताएकोमा ६३ मिलियन भोट पाउन सफल भएका थिए । अहिलेको सर्वेक्षण नतिजा निकाल्ने प्रायः त्यही संस्था हुन्, जो २०१६ मा हिलारीले जित्ने कुरा फिजाइरहेका थिए ।
अर्काेतर्फ अमेरिकामा अमेरिकी मिडिया प्रायः सबै ट्रम्पविरुद्ध छन् र तिनीहरूले सर्वेक्षण गर्दा कलेजका विद्यार्थीमाझ गर्छन् । जसमा कतिको मताधिकार छैन, जो भोट हाल्दैनन् वा सर्वेक्षणमा उल्टो लेख्ने गर्छन् । कोरोनाको प्रभावले ट्रम्पको लोकप्रियतामा कमी आएको पक्कै हो । तर जर्ज फ्लोडको हत्याले उनको लोकप्रियतामा प्रचार गरिए जति कमी आएको छैन ।
कोरोना अघिको अमेरिकी सुधार
अमेरिकाको राजनीतिक इतिहासबारे अध्ययन गर्ने र समसामयिक घटनाक्रमसँग अद्यावधिक हुनेलाई थाह छ कि ट्रम्पले २०१६ मा डेमोक्र्याटिक राज्यमा गएर कबुल गरेका वाचालाई निभाएका छन् । रिपब्लिकनले हारेको र डेमोक्र्याटिकले जितेर पनि त्यहाँको जनभावना विपरीत कार्य गरेका ओहायो, विस्कनसिन, मिचिगन र पेन्सिल्भानियामा उनले ‘नाफ्टा सन्धि’ खारेजी गर्ने उद्घोष गरेका थिए र राष्ट्रपति भएलगत्तै त्यो सन्धि खारेज गरेर मेक्सिको–अमेरिका–क्यानडा सन्धि गरे । जसले गर्दा लाखौं रोजगारी अमेरिकाभित्रै बस्न गयो ।
मिचिगनमा रहेको फर्ड कम्पनीले जब आफ्नो कम्पनी मेक्सिकोमा सार्ने इच्छा प्रकट गर्यो । ट्रम्पले कम्पनी मेक्सिकोमा सारेमा अमेरिकामा आउने उसको सामानमा ३५% अतिरिक्त कर लगाउने चेतावनी दिएर ती राज्यको श्रम बजार विस्थापित हुन दिएनन् । सीमा सुरक्षाको लागि मेक्सिकोसँगको सीमानामा ३०० माइल लामो अभेद्य पर्खाल बनाइसकेको र प्रत्येक हप्ता १० माइलको दरले प्रगति भइरहेको हुँदा गैरकानूनी मानव तस्करी, लागूऔषध र हतियार कारोबारमा कमी हुँदा सीमा सुरक्षाको कारण अमेरिका पहिलाको भन्दा सुरक्षित भएको कुरा नकार्न सकिँदैन ।
ट्रम्पले प्रथम कार्याकालमा अमेरिकामा व्यापक कर कटौती गरेका छन् । अमेरिका इतिहासमा ट्रम्पको नेतृत्वमा ऊर्जा क्षेत्रमा आत्मनिर्भर भएको छ । उनकै पालामा अमेरिकी फौजदारी सुधार कार्यक्रम लागू भएको छ, जसको आधारमा २० हजार अपराधी अमेरिकाबाट निष्कासन गरिएका छन् । उनकै पालामा अमेरिकी सर्वाेच्च अदालतमा २ र संघीय अदालतमा २०० न्यायाधीश नियुत गरेका छन्, जसले गर्दा यो निर्वाचनमा हारे पनि २१ औं शताब्दीको मध्यसम्म ट्रम्पको प्रभाव अमेरिकी समाजमा रहने छ ।
जलवायु परिवर्तनको नाममा अमेरिकालाई आर्थिक बोझ पार्ने र विकसित शक्तिशाली राष्ट्र चीनलाई विकासशील भन्दै आर्थिक दायित्वबाट उन्मुक्ति दिने असमान पेरिस सन्धि २०१५ लाई अस्वीकार गर्नाले ट्रम्प अमेरिकी जनताप्रति उत्तरदायी रहेको देखियो । नेटोको संरचनाले युरोपको सुरक्षा गर्ने तर युरोपका देशहरू नेटोको खर्चमा भागिदार नभएको हुँदा भागिदार हुन आग्रह गरेको र प्रत्येक देशको कूल गार्हस्थ उत्पादनको कम्तिमा २ प्रतिशत भागिदार हुन बाध्य बनाएको हुँदा अमेरिकी करदाताप्रति न्याय गरेको देखिन्छ ।
२०१६ मा जनतालाई आश्वासन दिएझै कुनै किसिमको वैदेशिक युद्धमा एक्लै वा गुटबन्दी गरेर सामेल नभएको, उल्टै इराक र अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता ल्याएको, इरान आणविक सौदाबाट हात निकालेको, जसबाट वार्षिक १.८ बिलियन डलर शत्रुराष्ट्र घोषित इरान जानबाट बचाई राष्ट्रिय ढुकुटी र अमेरिकी करदाताको करको कदर गरेका थिए । बरु त्यसरी बचाएको पैसाले २.५ ट्रिलियन डलर लगानी गरेर अमेरिकी सेना आधुनिकीकरण गर्दै अमेरिकी अन्तरिक्ष सेना दस्ता निर्माण गरेर अमेरिकी सान बढाएको कुरा अमेरिकीको सानको विषय हुँदै हो ।
चीनले अमेरिकासँगको व्यापारमा अमेरिकालाई लुटेको, अमेरिकी प्याटेन्ट चोरेको, अमेरिकी श्रम बजारबाट रोजगार छिनेको र अमेरिकी सर्वाेच्चतामाथि धावा बोलेकोमा त्यसलाई तह लगाउन अनेक प्रयास गरिरहेका थिए, जसको परिणाम व्यापार युद्ध, विश्वव्यापीकरणबाट अलग, चीनलाई एक्ल्याउन गरिएका सराहनीय प्रयास थिए । अझ अरब राष्ट्र र इजरायलबीच ऐतिहासिक शान्ति सम्झौता गराएर हतियार विना मध्यपूर्वमा युद्ध समाप्त पारी सफ्ट पावर बढाएको कुरामा अमेरिकीहरू अनभिज्ञ नहुनुपर्ने हो ।
ट्रम्पका भोटर को ?
अमेरिकीलाई विश्वव्यापीकरणसँग टाउको दुखाइ हुन थालेको छ । लागत अवमूल्यन गराएर फाइदा मात्र देखाएर अगाडि ल्याइएको विश्वव्यापीकरणले अमेरिका घाटा तथा चीन र भारत अत्याधिक लाभमा छन् । जुन अहिले रोजगारीको कटौती, कोरोना संकट, बढ्दो वर्गीय असमानता र एसियामा शक्ति सञ्चय हुने कारण पनि हो । अमेरिका युरोपको सबै देशबाट युरोपेलीहरू गएर बसेपछि बनेको देश हो, जहाँ पछि सबै देशका व्यक्ति गएर बसेका हुन् । यहुदी, अफ्रिकन अमेरिकन, हिस्पानिक, एसियन अमेरिकन, इन्डियन अमेरिकन, चाइनिज अमेरिकन जस्ता समुदायको एकीकृत भोटले पनि अमेरिकी चुनावमा ठूलो माने राख्छ । अमेरिकामा हिस्पानिक अमेरिकनको रोजगारीको अवस्था सुध्रिएको कारण ट्रम्पपट्टिको आकर्षण बढेको देखिन्छ । अमेरिकीमा बसाइसराइ गरेका प्रायः चिनियाहरू चीनको संस्थापनप्रति असहमति राख्छन् र चिनियाँ संस्थापनप्रति कडा रबैया अपनाउने राष्ट्रपति उनीहरूको छनोटमा पर्दछन् । यो कुरा इन्डियन अमेरिकनको हकमा उल्टो छ । जुन राष्ट्रपति भारतीय सरकारप्रति मित्रवत व्यवहारमा प्राथमिकता दिन्छ, उनीहरूको रोजाइ त्यहीँ राष्ट्रपति हुन्छ । गत वर्ष हाउदी मोदी कार्यक्रममा मोदी र ट्रम्प एकै मञ्चबाट सम्बोधन गर्नुले पनि भारतीयहरु ट्रम्पको पक्षमा भोट हाल्नेछन् । अझ धेरैले कमला ह्यारिसलाई उपराष्ट्रपतिमा चयन गर्नाले इन्डियन समुदायको भोट डेमोक्र्याटिकमा जाने अनुमान गरेका छन् । जुन कुराको सम्भावना न्यून छ । किनकि भारतले जम्मु–काश्मीरको विशेष अधिकार अन्त्य गर्दा, पुल्वामा आक्रमण हुँदा, नागरिकता संशोधन ऐन ल्याउँदा र काश्मीरको विषयमा भारतको ठूलो स्वरमा विरोध गर्ने यिनै कमला थिइन्, जुन भारतीय समुदायले भुल्ने छैन ।
ओबामाको पालामा अफ्रिकन अमेरिकनले ठूलो आशा गरेका थिए । तर अमेरिकी श्रम सम्बधी सरकारी आँकडा अनुसार ओबामाको पालामा उनीहरूको बेरोजगार दर ७.५% रहेकोमा ट्रम्पको पालामा सुधार भएर ५.५% मा झरेको थियो । ओबामा राष्ट्रपति हुँदा काला अमेरिकन पढ्ने कलेजको लागि कुनै ठोस कार्यक्रम नल्याए पनि ट्रम्पले ऐतिहासिक रूपमा काला अमेरिकन पढ्ने कलेजमा स्थायी रूपमा कोषको व्यवस्था गर्नाले काला अमेरिकनको शिक्षाप्रति ट्रम्प संवेदनशील रहेको र प्रचार गरिए जति रंगभेदी नभएको कुरा काला अमेरिकनले बुझेका छन । यहुदीको कुरा गर्ने हो भने अमेरिकाले ट्रम्पकै पालामा गोलान हाइटमा इजरायलको सार्वभौमिकता स्वीकार गर्यो भने संसारको धेरै देशको विरोधका बाबजुत पनि अमेरिकाको दूतावादलाई जेरुसलेममा सार्यो । जुन कुराले अमेरिकाको सम्पूर्ण यहुदीको भोट ट्रम्पलाइ जाने पक्कापक्की नै छ । यसरी मतदान गर्ने अधिकार भएका पहिलो पिँढीका प्रायः सबैको रोजाइ ट्रम्प हुनेछन् ।
माथि नै भनिएझै बाइडेन अमेरिकी जनता र विशेषतः युवामाझ ऊर्जाशील व्यक्ति मानिँदैनन् । उनी सुस्त, अल्छी, ढुलमुले, मध्यम खाले नियोलिबरल सेन्ट्रीस्ट हुन् । अमेरिकामा समाजवादको वकालत गर्न खोज्ने बर्नी स्यान्दर्सको उनी न पूर्ण समर्थक हुन्, न त विरोधी नै । ट्रम्पले त उनी बर्नीको आदर्श बोकेर चुनावमा ओर्लेको बुख्याचाको संज्ञा दिएका छन् । जुन अमेरिकी संस्थापनको मर्म विपरीत छ । अमेरिकीमा समाजवादको झण्डा बोक्ने जुनसुकै पार्टी, व्यक्ति, विचारलाई अमेरिकी जनताले तिरस्कार गर्नेछन् । यसरी समाजवादी वा पुँजीवादी धारबीच रुमल्लिएका जो बाइडेनलाई आफ्नै डेमोक्र्याटिक पार्टीकै कार्यकर्ता (विशेषगरी बर्नी स्यान्डर समर्थक) ले भोट नहाल्न पनि सक्छन् ।
कोरोना पछिको अमेरिकी अर्थतन्त्रमा आउने सुधार
ट्रम्पले कोरोनाको कारण अमेरिका बन्द गर्न नसकिने कुरा गरेका थिए । तर पछि अमेरिकामा कोरोना ज्यादा बढेका र विश्व स्वास्थ्य संगठनको कारण धेरै राज्यमा लकडाउन गर्नुपर्दा अमेरिकीहरू आर्थिक रूपमा प्रभावित हुनुपर्यो । यसको दोष बाहिरी दुनियाँले ट्रम्पलाइ दिए पनि यहाँ के बुझ्न जरुरी छ भने कोरोनालाई राजनीतिक हतियार बनाउने मनसायले राज्यको अधिकार प्रयोग गर्दै डेमोक्र्याटिकको गभर्नर र मेयर भएको राज्यहरू र शहरमा फैलिन दिइयो र त्यही बहानामा लकडाउन गरियो । तर ट्रम्पले ती गभर्नरलाई नै सो कार्यको लागि दोषी करार गर्नेछन् र यो मुद्दा २ प्रत्याशीबीच यो महिनाको अन्त्य र अर्काे महिनामा हुने ३ वटा खुल्ला बहसमा उठाउनेछन् । अर्काेतर्फ लकडाउनका कारण अमेरिकी अर्थतन्त्र धरासायी भइरहेको बेलामा अमेरिका पुनः खोल्न शुरू हुँदा जुन र जुलाई महिनामा क्रमशः ७५ लाख र १ करोड रोजगार (कूल गुमेको रोजगारको एकतिहाइ) थपिएका छन् । जुन उत्साहप्रद छन् र यसले अर्थतन्त्र सुदृढीकरणतर्फ गएको संकेत गर्छ । तर अधिकांश अमेरिकी जनताले ट्रम्पले कोभिड देखिनुभन्दा पहिला गरेको आर्थिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गर्दछन् भन्ने कुरा एबीसीन्युजको सर्वेक्षणले समेत देखाउँछ ।
ट्रम्पको रणनीति
ट्रम्प आफूलाई शान्ति तथा अमनचयन प्रेमी राष्ट्रपति मान्छन् र अमनचयन विना देशको प्रगति हुन नसक्ने कुरामा सधै जोड दिन्छन । उनी डेमोक्र्याटिक गभर्नर भएका राज्यमा अमनचयन नभएको, केन्द्र सरकारले केन्द्रीय प्रहरीको सहयोगमा दंगा नियन्त्रण गर्न सहयोग गर्न खोज्दा नमानेको जस्ता कठिन प्रश्नले डेमोक्र्याटिक पार्टीलाई घोचिरहन्छन् । अमेरिकी इतिहास हेर्ने हो भने पनि १९६८ मा रिचर्ड निक्सनले प्रत्यासी हुबर्ट हम्फ्रेलाई मार्टिन लुथर किङ र रबर्ट केनेडीको हत्या र भियतनाम युद्धको मुद्दामा तटस्थ सुषुप्त जनमत प्राप्त गरेका थिए । ट्रम्पले बेलाबखत गर्ने जातिवादका कुराले वास्तवमा उनलाई घाटाभन्दा फाइदा पुर्याइरहेको हुन्छ । कट्टरवादी धनी गोरा अमेरिकीको मत ट्रम्पभन्दा अन्त जाँदैन र तिनीहरू सबै मतदानमा भाग पनि लिन्छन् । किनकि ट्रम्प गोरा अमेरिकनको सर्वाेच्चताको धरोहर हुन् । यदि उनी हारे यी कट्टरवादीको समुदायमा निम्न आय भएका, अपराधमा संलग्न भएका रंगिन व्यक्ति प्रवेश गर्ने हुँदा समाज अशान्त र सम्पत्तिको मूल्यमा गिरावट आउनेछ भन्ने उनीहरूलाई थाह छ । जुन उनीहरू चाहँदैनन् ।
अमेरिकी राष्ट्रपतिले तटस्थ रहेका मतदाता आफूतर्फ आकर्षित गर्न सक्नुपर्छ । किनकि जनमत सर्वेक्षणमा ३८% अमेरिकी जनताको मात्र समर्थन ट्रम्पलाई रहेको देखाएको छ र अमेरिकी निर्वाचनमा १९४८ मा ह्यारी ट्युम्यानभन्दा बाहेक कसैले ४०% भन्दा कम जनानुमोदन हुँदा राष्ट्रपति जितेका छैन । अमेरिकामा कोरोंनाको नियन्त्रण हुँदै जानु, मृत्यु संख्या कम हुँदै जानु र देश कोरोना विरुद्धको खोपमा सफलताउन्मुख रहेकाले ट्रम्पको पासा अक्टोबरमा आफूतिर पल्टन सक्ने आकलन गर्न सकिन्छ । जसलाई चुनावी प्रयोगको लागि प्रभावकारी बनाउन अमेरिकाले अक्टोबरमा खोप तयार भएको समाचार जनतालाई दिएर जनमत उल्ट्याउने छ ।
कोरोना संकटका कारण यो पालि निर्वाचन केन्द्रहरू घटाइएका छन् । यसको अर्थ हुन्छ भोट हाल्न धेरै समयको यात्रा तय गर्नुपर्ने र धेरै समय लाइनमा बस्नुपर्ने । कोरोनाबाट बच्न लकडाउनको समर्थन गरेका बाइडेनले महामारीको माझ भोट हाल्न जानु भनेर भन्दा मतदाताले उनको राजनीतिक स्वार्थ प्रस्टै बुझ्नेछन् । अर्काेतर्फ अमेरिका बन्द गर्नको लागि होइन, खुल्ला हुनको लागि हो भन्दै आएका ट्रम्पका समर्थकहरू आफ्ना प्रतिनिधि छान्न लामो दूरी पार गरेर लाइनमा बसेर भोट पनि हाल्नेछन् ।
डेमोक्र्याटिकले जित्न सक्ने स्थानमा निर्वाचन नजिकिँदै जाँदा सुरक्षाको नाममा कडाइ गर्ने र डेमोक्र्याटिक मतदातालाई रोक्न अनेक उपाय लगाउन सक्छन् । अर्काेतर्फ मतपत्र हुलाकमार्फत पठाउने व्यवस्था भएमा ट्रम्पको निर्देशनमा अमेरिकी हुलाकले डेमोक्र्याटिक पकड रहेको क्षेत्रको हुलाक सेवाको कार्य सम्पादन सुस्त गरिदिनेसम्म पनि अवस्थामा सिर्जना हुन सक्छ ।
अन्त्यमा
२०२० मा ट्रम्प अमेरिकालाई आउने ४ वर्षमा उत्पादनको केन्द्रविन्दु बनाउने, ‘मेड इन यूएसए’ अभियानद्वारा चीनसँगको परनिर्भरता घटाउने, अमेरिकी सर्वाेच्चता पुनःस्थापना गर्ने, स्वास्थ्य बीमाको प्रिमियम र औषधिको मूल्य घटाउने, चन्द्रमामा पहिलो महिला पठाउने, अमेरिकाको शिक्षामा अमेरिकी इतिहास र प्रगतिको शिक्षा राख्दै सबैलाई देश र इतिहासप्रति गौरव अनुभव गराउने र अमेरिकी मूल्य र मान्यतामा आँच आउने हर क्रियाकलापलाई प्रतिकार गर्दै अमेरिकालाई थप सुरक्षित, गौरवान्वित र महान् वाचासहित निर्वाचनमा होमिएका कारण ट्रम्प बाइडेनभन्दा बलिया र सशक्त राजनीतिक खेलाडी भएको हुँदा बाहिर हल्ला गरिएजस्तो ट्रम्पको हार हुने देखिँदैन । निर्णय अमेरिकी जनताको हातमा !
(लेखक अधिकारी इन्जिनीयरिङमा विद्यावारीधि गर्दैछन् भने राजनीतिशास्त्र र कानूनका विद्यार्थी पनि हुन् ।)