२३ असार २०८३, मंगलबार

नगरपालिका फोरमले भन्यो- उपत्यकामा निजी सवारीसाधन जोर-बिजोरमा चलाऔं, उद्योग खोलौं

नगरपालिका फोरमले भन्यो- उपत्यकामा निजी सवारीसाधन जोर-बिजोरमा चलाऔं, उद्योग खोलौं
फाइल फोटो

उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएर जनजीवन सहज बनाउन संघीय सरकारसँग माग गरेको छ।

फोरमको मंगलबार बसेको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्न र उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन माग गरिएकोमध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए।

उपत्यकामा भदौ ३ गते मध्यराबाट जारी निषेधाज्ञा भोलि बुधबार मध्यराति सकिँदैछ। 
 
 फोरमका सचिव रहेका श्रेष्ठले भने, ‘भदौ २५ गतेबाट उपत्यका प्रवेशका सबै नाका र प्रवेश विन्दुमा अत्यन्त कडाई गरी जोखिम न्युनीकरणलाई ध्यानमा राखी सुरक्षा सतर्कता अपनाई स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा गर्ने–गराउने गरी निषेधाज्ञा खुकुलो गर्दै जानुपर्ने निर्णय गरेका छौँ।’  

श्रेष्ठले नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्य सुरक्षाका लागि पनि तैनाथ हुनुपर्ने भएकाले उपत्यका प्रवेश नाकामा सेना खटाई अहिले भन्दा पनि कडाई गर्ने हो भने उपत्यका भित्र आर्थिक गतिविधि चलायमान हुने र  जनजीवन पनि सहज हुने बताए। 

‘कोभिड संक्रमणको दर घटेको छैन। तर, महामारीले के गर्ला भनेर गरिने बन्दाबन्दीले दैनिक श्रम गरेर खाने मध्यम र निम्न बर्गका परिवारमाथि समस्या थपिँदै गएको अवस्थामा हामीले यस्तो निर्णय गरेका हौँ,’ उनले भने, ‘उपत्यका भित्र देखिएका संक्रमितलाई संक्रमण चक्रबाट छुट्याएर भित्रको समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न सीमा नाकामा कडाई गर्नुपर्छ भनेका हौँ ।’ 

बैठकले उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा भने जोर-बिजोर प्रणाली लागु गर्न आग्रह गरेको छ। बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने/गराउने पनि निर्णय गरेको छ। 

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधीमा उपत्यकामा करीब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको जानकारी दिइएको थियो। यस अघि बसेको उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने निर्णय गरेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्