२३ असार २०८३, मंगलबार

केही समूह प्रायोजित रुपमा नै बम-बारुदको बाटोमा अगाडि बढ्ने देख्छु : प्रधानसेनापति थापा

केही समूह प्रायोजित रुपमा नै बम-बारुदको बाटोमा अगाडि बढ्ने देख्छु : प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९ को महामारी फैलिँदै जाँदा केही महिना नेपाली सेनाका गतिविधिहरू अझै खुम्चिन सक्ने अनुमान गरेका छन्।

‘महामारी जति फैलिन्छ, हाम्रा स्थानीय, प्रादेशिक र राष्ट्रिय क्षमतामाथि त्यति नै दवाब थपिँदै जान्छन्,’ प्रधानसेनापतिको कार्यकाल सम्हालेको २ वर्ष पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै थापाले भने, ‘यसबाट स्वास्थ्य समस्या मात्रै थपिँदैन, सामाजिक, आर्थिक गतिविधि सङकूचित हुन्छ।’

उनले विदेशबाट फर्किएका युवाको बेरोजगारीको समस्याले अस्थिरता र अन्योल निम्त्याउन सक्ने समेत चेतावनी दिएका छन्।

‘फलतः बढ्दो जन आकांक्षाबीच सुरक्षा चुनौती थपिने सम्भावना पनि त्यत्तिकै छ। लोकतान्त्रिक पद्धति स्थापित भइसकेको वर्तमान अवस्थामा पनि परिस्थितिको लाभ उठाउँदै केही समूह व्यक्तिगत स्वार्थका लागि वा प्रायोजित रुपमा नै बम-बारुदको बाटोमा अझै अगाडि बढ्न सक्ने सम्भावना पनि म देख्दछु,’ सम्बोधनमा थापाले भनेका छन्। 

यस प्रकारका विभिन्न प्रयोगको सिलसिला र मनोगत निहित स्वार्थको कारणले मात्रै नभइ, क्षेत्रीय र अन्तर्राष्ट्रिय कारणले पनि नेपालीको जीवन आगामी केही वर्ष तरल रहने उनले उल्लेख गरेका छन्। 

‘राष्ट्रका लागि राष्ट्रिय सेनाको भूमिका नै यस्तै प्रकारका चुनौतीपूर्ण अवस्थामा बढी हुने हो,’ थापाले भने।

थापाले शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध आगामी दिनमा महत्वपूर्ण हुँदै जाने बताएका छन्।

‘राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावना नेपाली सेनाले सदैव प्रतिविम्बित गर्नुपर्दछ,’ उनले भने, ‘हुँदै नभएका विषयमा समेत सेना र सरकारबीच असामन्जस्यता ल्याउन विभिन्न माध्यम निरन्तर प्रयोग हुनसक्ने सम्बन्धमा पनि अबको वर्षलाई सुदृढीकरण र दिगोपनको वर्षका रुपमा निर्धारण गरेको छु।’

उनले छिमेकी देशका सेना समझदारी निर्माण गर्न थालिसकिएको बताएका छन्। ‘नेपालको रणनीतिक परिस्थिति र भू-राजनीतिक संवेदनशीलतालाई राष्ट्रिय सुरक्षा, राष्ट्रहित र राष्ट्रिय स्वार्थकेन्द्रित हुने गरी सुदृढीकरण र दिगोपनका लागि सतर्क हुनुपर्ने तर्फ भावी नेतृत्व वर्गको विशेष ध्यानाकर्षण गराउँछु,’ आगामी नेतृत्वको चुनौतिबारे उल्लेख गर्दै उनले भनेका छन्।

नेपाली सेनाको प्राथमिकतामा राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षाभन्दा ठूलो वा माथि केही पनि, कोही पनि हुन नसक्ने र हुन नहुने उनको भनाइ छ। 

राष्ट्रको सीमा सुरक्षा मजबुद बनाउँदै लैजानुपर्ने समेत बताएका छन्। ‘राष्ट्रको भुगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र हामी सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तयार रहनुपर्ने तर्फ तपाईंहरु सबैको ध्यानाकर्षण गर्दछ,,’ थापाले भने।

salt training

कमेन्ट गर्नुहोस्