०३ साउन २०८३, आइतबार

भारत–चीन सीमाविवाद : भारतलाई घाटा लाग्ने चीनको चेतावनी

भदौ २५, २०७७
भारत–चीन सीमाविवाद : भारतलाई घाटा लाग्ने चीनको चेतावनी

चीन र भारतबीच गलवान उपत्यकामा गत जुन महिनामा भिडन्त भएदेखि भारतले चीनविरुद्ध लगातार क्रियाकलाप गर्दै आएको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले विश्लेषण गरेको छ ।
 

लोङ सिङचुनले लेखेको उक्त विश्लेषणमा सोधिएको छ– आर्थिक र सैन्य शक्तिको मामिलामा भारत अहिले चीनको तुलनामा निकै पछाडि छ तैपनि किन चीनलाई चिढ्याउने जोखिम मोल्छ ? 

उनी थप लेख्छन् :

चीनले युद्ध शुरू गर्दैन वा युद्ध चर्काउनका लागि पहलकदमी गर्दैन भन्ने दृढ विश्वास भारतलाई छ । त्यसैले भारत सीमामा ससाना तनावका घटना गराइरहन्छ । चीनको बलियो सैन्यशक्ति यस्ता साना विवादमा काम लाग्दैन भन्ने भारतको विश्वास छ । 

उग्र राष्ट्रवादको बहकाउमा परी नरेन्द्र मोदी सरकार र भारतीय सेनालाई चीनविरुद्ध कठोर अडान देखाउनुपर्ने आवश्यकता छ । आफूसँग क्षमता नभए पनि उनीहरूलाई कठोर देखिनुपर्ने बाध्यता छ । चीनले विशाल स्तरको सैन्य भिडन्त गर्दैन भन्नेमा नयाँ दिल्ली विश्वस्त छ त्यसैले ऊ आफ्नो दृढनिश्चयको घमण्ड गरिबस्छ ।

भारतले युद्ध शुरू गर्न लागेको जस्तो व्यवहार देखाइरहेको छ । यस्तो व्यवहार देखाए पनि भारतले खासै फाइदा उठाउन सक्दैन किनकि सैन्य परिचालनका लागि ठूलै स्रोतसाधन चाहिन्छ । भारतका लागि यसको भार दीर्घकालीन रूपमा असह्य हुन पुग्छ । नयाँ दिल्ली बेइजिङसँग यथाशीघ्र सम्झौता गर्न आतुर छ । 

चीन र भारतको सम्बन्ध तीव्र गतिमा बिग्रँदै गइरहेको छ । चीन र अमेरिकाको सम्बन्धको कुरा गर्दा अमेरिका बलियो र आक्रामक शक्ति हो । तर चीन र भारतको सम्बन्धमा कुरा गर्दा भारत कमजोर शक्ति हो तैपनि आक्रामकता देखाइरहेको छ । यो निकै अनौठो घटना हो । 

आर्थिक सुस्तता र महामारीप्रति जनताको ध्यान नजाओस् भनी भारतले चीनप्रतिको आक्रामकतालाई बढावा दिइरहेको हो भने नयाँ दिल्लीले समग्र परिस्थितिलाई गलत बुझेकाले पनि दुई देशबीचको सम्बन्ध बिग्रेको हो । चीन र अमेरिकाबीचको सम्बन्ध तनावग्रस्त छ र सन् १९६२ मा पनि यस्तै स्थिति थियो । भारतले यो आफ्ना लागि अवसर हो भनी गलत बुझिरहेको छ । बेइजिङ अहिले वाशिङटनसँग अल्झिरहेको बेलामा भारतको आक्रामकताको जवाफ नफर्काउला भन्ने सोच नयाँ दिल्लीले पालेको जस्तो देखिन्छ । चीनले ठूलै छुट देला भन्ने भ्रम भारतलाई छ । 

अन्तर्राष्ट्रिय परिस्थिति आफूअनुकूल हुने विश्वास भारतले लिएको छ । सन् १९६२ को युद्धका बेलामा चीन र सोभियत संघको सम्बन्ध राम्रो थिएन । त्यतिखेर नयाँ दिल्लीले सोभियत संघको सहानुभूति र समर्थन प्राप्त गरेको विश्वास लिएको थियो । अहिले पनि नयाँ दिल्लीले रुससँग सुसम्बन्ध रहेको विश्वास लिएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले जुन महिनामा भारत–रुस सम्बन्ध विशेष तथा उच्चस्तरीय रणनीतिक साझेदारी भएको बताएका थिए । 

वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा निकै गहन परिवर्तन आइसकेको छ तर भारत अहिले पनि मिति गुज्रिसकेको रणनीतिक विचारधारा लिएर बसेको छ । वास्तवमा चीन, रुस र भारतले ब्रिक्स र शांघाई कोअपरेसन अर्गनाइजेसन जस्ता संरचनाभित्र रहेर सहकार्य गर्न सक्छन् । रुसले चीनविरुद्ध भारतको आक्रामकतालाई समर्थन गर्ने सम्भावना न्यून छ । रुसले भारतलाई हतियार बेच्ने भए पनि त्यो नियमित बिक्री हो । रुसले चीन तथा भारत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्छन् भनी आशा गरेको छ र नयाँ दिल्लीलाई आशावादी हुनुपर्ने कुनै कारण छैन ।

अमेरिकालाई भारतको प्रमुख समर्थक मानिन्छ । भारतलाई फकाउन अमेरिकाले हिन्द प्रशान्त रणनीति प्रवर्द्धन गरिरहेको छ । यसले गर्दा बेइजिङविरुद्ध थप लाभ लिन सहज हुन्छ भन्ने नयाँ दिल्लीको विश्वास छ । 

तर वाशिङटन विश्वासयोग्य छ त ? ट्रम्प प्रशासनले भारतलाई समर्थन गरेको दाबी गर्छ तर उसले के गर्‍यो ? सन् २०१९ मा अमेरिका र भारतले एकअर्काविरुद्ध आयातकर लगाए, वाशिङटनले भारतीयहरूलाई प्रत्येक वर्ष जारी गर्ने एच–१बी प्रवेशाज्ञामा नियन्त्रण गर्‍यो अनि अमेरिका भारतलाई चर्को मूल्यमा हतियार बेच्छ । अमेरिकाको बहालवाला सरकार साथीहरू बनाउन चाहन्छ तर तिनै साथीबाट फाइदा लिन खोज्छ । भारत यसबारेमा अवगत छैन जस्तो देखिन्छ । 

चीन र भारतबीच सैन्य द्वन्द्व भएमा अमेरिकाले भारतलाई गोप्य सूचना देला अनि हतियार बेच्ला । तर अमेरिकाले भारतलाई सहयोग गर्न सैनिक पठाउन असम्भव छ । अनि अमेरिकाको समर्थन पाए पनि भारतले चीनविरुद्धको युद्ध जित्न गाह्रै छ । 

भारतीय सैनिकहरूले चीनका सीमा गश्ती सैनिकहरूमाथि सोमवार चेतावनीस्वरूप गोली प्रहार गरे अनि तनाव ह्वात्तै बढेर गयो । सीमायुद्ध चर्किएछ भने चीनले सीमाका विषयमा कुनै पनि छुट दिने छैन । दुवै पक्षमा हताहती हुने, धनसम्पत्ति क्षति हुने र थप भिडन्त हुने मात्र हो । यस्तो युद्ध लड्नुको के अर्थ छ ?

भारत असह्य रूपमा आक्रामक भएमा चीनले अन्य विवादलाई थाती राखेर भारतमा ध्यान एकत्रित गर्नेछ । भारतले चीनसँग भिड्नका लागि सक्रियता देखाएमा नराम्ररी हार्नेछ । भारतले दिमाग लगाएर अब चीनविरुद्ध अमेरिकालाई उत्तेजित बनाउने काममा सहयोग गर्नुहुँदैन । चीनले अमेरिकासँग युद्ध नगर्ला तर मोर्चामा अग्रपंक्तिमा रहेको भारतसँग युद्ध गर्ला । 

salt training

कमेन्ट गर्नुहोस्