
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले २०७५ चैत १२ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) गर्यो । लकडाउनको समयमा देशभरका सवारीसाधन ठप्प भए ।
सरकारले अत्यावश्यक सवारीसाधनहरू बिरामी बोकेका एम्बुलेन्स, खाद्यान्न, औषधि बोकेका सवारीसाधन, स्वास्थ्यकर्मी, पत्रकार, मृत्यु संस्कारमा हिँड्नुपर्ने बाहन र व्यक्तिका सवारीसाधन, क्वारेन्टीनमा बसेका व्यक्तिलाई ओसारपोसार गर्ने सवारीसाधन चल्न दिएको थियो ।
लामो र छोटो दूरीका सार्वजनिक सवारीसाधन भने बन्द नै थिए । बन्दबन्दीको समयमा अन्य सवारीसाधनको आवतजावत बन्द भए पनि दुर्घटनाको तथ्यांक भने घटेन । सामान्य समयभन्दा लकडाउनको समयमा केही दुर्घटना कम भएपनि संख्यात्मक रूपमा देशभर दुर्घटना घटेको देखिँदैन ।
प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७६/२०७७ मा अघिल्लो २ वर्षको तुलनामा दुर्घटना बढेको देखाउँछ । तर मृत्यु हुनेको संख्यामा भने कमी आएको देखिएको छ ।
आर्थिक वर्ष ०७४/७५ मा १० हजार ९६५ वटा सवारी दुर्घटना भएका छन् भने २ हजार ५४१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७५/०७६ मा १३ हजार ३६६ वटा दुर्घटनामा २ हजार ७८९ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७६/०७७ मा १५ हजार ५५४ वटा सवारी दुर्घटनामा २ हजार २५५ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।
लकडाउनको समयमा सवारीसाधन नचल्दा दुर्घटना कम भएको अनुमानलाई भने तथ्यांकले गलत साबित गरेको छ । दुर्घटना कम नहुनुमा लकडाउनको समयमा सवारीसाधनको गति बढी हुनु, प्रहरीको आँखा छल्नको लागि बिग्रेको चोर बाटो प्रयोग गर्नु कारण रहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेर कठायतले बताए ।
‘लकडाउनको समयमा सवारीसाधनको तीब्र गति र प्रहरीको आँखा छल्नको लागि चोर बाटो प्रयोग भएकाले दुर्घटना बढी देखिएको हो,’ एसएसपी कठायतले लोकान्तरसँग भने ।
लकडाउनको ६ महिनामा साढे ४ हजार दुर्घटना
२०७६ चैत ११ गते मध्यरातिदेखि सरकारले बन्दाबन्दी (लकडाउन) गर्यो । लकडाउनको ६ महिनामा साढे ४ हजार अर्थात् ४ हजार ६०६ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा ५९१ जनाले ज्यान गुमाएका छन् ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्यांक अनुसार ४५१ वटा सवारी दुर्घटनामा ८९ जनाले ज्यान गुमाएका छन् । २ नम्बर प्रदेशमा १ हजार ३० वटा दुर्घटनामा १३५ जना, बाग्मती प्रदेशमा २९३ दुर्घटनामा ६८ जना, गण्डकी प्रदेशमा १२५ दुर्घटनामा ४६ जना, ५ नम्बर प्रदेशमा ४८३ दुर्घटनामा १४५ जना, कर्णाली प्रदेशमा ९६ दुर्घटनामा २४ जना, सुदूरपश्चिम प्रदेशमा १२४ दुर्घटनामा ५३ जना र काठमाडौं उपत्यकामा २ हजार ४ दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।
लकडाउनको अवधिमा उपत्यकामा सवारी दुर्घटना घट्यो
लकडाउनको समयमा सवारीसाधन दुर्घटना निकै कम भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार २०७६ चैत १२ गतेदेखि साउन मसान्तसम्म २ हजार ४ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ०७६ चैत ४ सय ३८, ०७७ बैशाख २ सय १, जेठमा २ सय ३६, असार ५ सय ७७ र साउनमा ७१५ जना गरि २ हजार ४ वटा सवारी दुर्घटना भएको छ ।
अघिल्लो आर्थिकमा बर्षमा उपत्यकामा १० हजार ३८ वटा सवारी दुर्घटनामा १ सय ५३ जनाले ज्यान गुमाएका थिए ।