११ असार २०८३, बिहीबार

हिजो दिनभर : काठमाडौं उपत्यकाबाट बाहिर जान थप कडाइ,पत्रकार वीरेन्द्रका हत्या आरोपी १३ वर्षपछि पक्राउ

हिजो दिनभर : काठमाडौं उपत्यकाबाट बाहिर जान थप कडाइ,पत्रकार वीरेन्द्रका हत्या आरोपी १३ वर्षपछि पक्राउ

उपत्यका बाहिर जान थप कडाइ, यस्तो छ प्रक्रिया
काठमाडौं उपत्यका बाहिर जान थप कडाइ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामका लागि सवारीसाधनसहित उपत्यका बाहिर जानु परेमा प्रशासनको अनुमति लिनुपर्ने बताएको हो।

दाहसंस्कार लगायत अत्यावश्यक काम वा कर्मचारीको सरुवा भएर उपत्यका बाहिर जानु पर्ने भएमा प्रशासनले सहजीकरण गर्नेछ।

सवारी सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावश्यक कामको प्रयोजन खुल्ने कागजात, गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमति पत्र र गन्तव्य स्थानीय तहको सिफारिस पत्र काठमाडौं प्रशासनमा पेश गर्नु पर्नेछ।

सोही आधारमा काठमाडौं प्रशासनले सवारीसाधनसहित उपत्यका बाहिर जान अनुमति दिनेछ।

अत्यावश्यक काम परेको खण्डमा मात्र उपत्यका बाहिर जान पाइनेछ। प्रशासनको अनुमति बिना काठमाडौं जिल्ला बाहिर आवतजावत गर्न नपाइने सूचनामा उल्लेख छ। 

सर्वोच्चले भन्यो- कोभिडको उच्च जोखिमका कैदीबन्दीलाई रिहा गर्नु
सर्वोच्च अदालतले कोभिड—१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। 

न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गत साउन १९ गते जारी गरेको आदेशको पूर्णपाठमा बिहीबार सार्वजनिक भएको हो। 

कारागारको भीडभाड कम गर्न नाजुक अवस्थाका बालबालिका, गर्भवती, दुध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्याका कैदीलाई प्राथमिकताआधारमा छुटको निर्णय गर्न पूर्णपाठमा भनिएको छ। 

‘कैदीबन्दीको अवस्थाको अत्यन्त सतर्कतापूर्वक पहिचान गरी निजहरुको स्वास्थ्यमा हुने जोखिमतासँग कसूरको प्रकृती र सार्वजनिक सुरक्षासमेतलाई ध्यानमा राखी दुवैबीच सन्तुलन कायम गरी संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरी अहिले महामारी रोकथामको लागि नेपाल सरकारबाट आदेश तथा निर्णयहरु भैरहेको सन्दर्भ छ,’ पूर्णपाठमा भनिएको छ।

‘तत्काल छोड्ने वा सजाय कम वा छुट गर्ने वा अन्य कुनै उपयुक्त विशेष निर्णय लिनको लागि निर्देशनात्मक आदेशसमेत जारी गरिएको छ, प्रस्तुत रिट निवेदनमा भएका आदेशको कार्यान्वयनको स्थिति देखिने प्रतिवेदन दुई महिनाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतको अनुगमन तथा निरीक्षण महाशाखामा पठाउनू,’ पूर्णपाठमा भनिएको छ।

सामान्य अवस्थामा पनि कारागारमा भीडभाड गरी कैदीलाई कारागारभित्र कठिन हिसाबले रहन बस्न बाध्य गर्नु उनीहरुको मानवअधिकारको साथै संवैधानिक अधिकार र कानूनी अधिकारको उल्लंघनको विषय भएको उल्लेख छ। 

काेभिड-१९ नियन्त्रणमा आयुर्वेदकाे प्रयाेग बढाउनुपर्छ- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा  नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण  भूमिका हुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसंँग छलफलमा उनले कोभिड-१९ को  रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने बताए।

प्रधानमन्त्री ओलीले आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकीकरणको प्रक्रिया मिसाउनुपर्ने बताए।  आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने प्रवृत्ति हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको जनाउँदै यसमार्फत भविष्यमा सिङ्गो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगको विकास गर्ने लक्ष्य राखिएको उनले बताए।

कोरोना भाइरस नियन्त्रणमा आयुर्वेदलाई प्रयोग मात्रै नगर्न र यसको प्रयोगलाई बढाउन उनले सबैको ध्यानाकर्षण गरे। प्रधानमन्त्री ओलीले आयुर्वेदमार्फत उपचारमा हाल भइरहेका काम र उपयोगी घरेलु विधिको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गर्न पनि आग्रह गरे।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा ऋषिराम कोइराला, डा प्रदीप केसी, विनोद पौडेल, डा रामआधार यादव, डा सन्तोष ठाकुर, प्रा डा डिबी रोका, डा शिवमङ्गल प्रसाद, डा प्रकाश ज्ञवाली लगायत सहभागी थिए। छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि सहभागी थिए।

पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पटेल १३ वर्षपछि पक्राउ
बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेका छ।

बाराका एसपी कृष्ण पंगेनीका अनुसार १३ वर्ष अघि भएको हत्या घटनामा महागढीमाई नगरपालिका–२ तेलकुवाका हरेराम पटेललाई पक्राउ गरिएको हो। यो घटनामा पक्राउ  पर्ने उनी चौथो व्यक्ति हुन्।

पत्रकार साह ०६४ असोज १८ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका थिए। उनको शव कात्तिक २२ गते डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो।

पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भनिने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेत पाँच जनाले अपरहण गरी हत्या गरेको प्रहरीको निष्कर्ष थियो।

गिरी र  सहनीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ। गत वर्ष पक्राउ परेका फौजदार पुर्पक्षका लागि कारागारमा छन्।

पटेल फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको थियो।

एसपी पंगेनीले पक्राउ परेका पटेललाई अदालत पेश गरिने बताए। साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी अझै फरार छन्।

salt training

कमेन्ट गर्नुहोस्