
कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा यसको रोकथाम तथा न्यूनिकरणका लागि सांसदहरूको भूमिका प्रभावकारी बनाउन काठमाडौंका सांसदहरूले संसदको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार विभिन्न राजनैतिक दलका सांसदहरूले सभामुख सापकोटालाई सांसदहरूको भूमिका प्रभावकारी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेपाली कांग्रेसका सांसद शशाँक कोइराला, सांसद गगन थापा, शशी श्रेष्ठ, जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठ,लगायत २० सांसदहरूको हस्ताक्षरसहितको पत्र सभामुख सापकोटालाई बुझाइएको हो ।
पत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजन गरिएको बाँकी रकम र ७७/७८ को विनियोजित रकम मध्येबाट कोभिड १९ रोकथाम तथा न्यूनिकरणका लागि, प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना गर्ने लगायतका काममा पहल गर्ने उल्लेख गरिएको छ ।
यस्तै पत्रमा संसदीय समिति गठन गरि कोभिडको अवस्था र प्रभावबारे अनुगमन र सरकारलाई जानकारी दिनुपर्नेमा जोड दिइएको छ ।
पत्र बुझेपछि सभामुख सापकोटाले आफूले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल तथा प्रतिपक्षी दल लगायतसँग छलफल गरेर यसबारे अगाडि बढ्ने प्रतिक्रिया दिएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।

