११ असार २०८३, बिहीबार

खल्तीमा अनुदान बोकेर टहराको बास

कात्तिक २०, २०७४
खल्तीमा अनुदान बोकेर टहराको बास
सिन्धुपाल्चोक, ९ पुस - चोकटी गाविस–३ की ५५ वर्षीया राममाया थामीले दसैंअघि नै सरकारले भूकम्पपीडितका लागि घोषणा गरेको ५० हजार रुपैयाँ अनुदान रकम हात पारिसकेकी छन् । घर निर्माणका लागि दिएको अनुदान रकम पोल्टामा राखेको चार महिना पुग्न लागेको छ । चिसो टहरोमा रात बिताएको पनि राममायाले लामो समय भइसकेको छ तर उनको घर बनाउने कुनै सुरुसार छैन, आजको राजधानी दैनिकमा खबर छ ।earth-quake-victim

उनी पोल्टाको रकम बेलाबेलामा गन्छिन् । तर, घर बनाउने उनको योजना छैन । किन त ? ‘यति पैसाले कसरी घर बनाउनु, पुग्दैन त्यही भएर नबनाएको,’ राममाया भन्छिन् । पाँग्रेटार गाविस माझी गाउँका सबै पीडितले अनुदान पाइसकेका छन् । अनुदान खल्तीमा हालेर बसेका लामो समय भइसक्यो तर सुरक्षित जग्गा नभएर माझी समुदायले घर निर्माण सुरु गर्न सकेका छैनन् ।

सुनकोसी नदी किनारमा बस्ने माझी समुदायसँग जेजति जग्गाजमिन छ, सबै सुनकोसी नदी किनारमा छ । जुरे पहिरोपछि आएको बाढी र केही महिनाअघिको भोटेकोसी बाढीको प्रकोप यहाँका समुदायले भोगेका छन् । ‘घर निर्माणका लागि अनुदान त पाइयो तर सुरक्षित जग्गा नै छैन,’ स्थानीय रामकाजी माझीले भने, ‘पहिलेको थलोमै बनाऊँ भने कति बेला नदीले लैजान्छ भर छैन, अन्त जाऊँ जग्गै छैन ।’

रकम हुनेसँग घर बनाउने जग्गा नै छैन भने जग्गा हुनेसँग घर बनाउन पुग्ने पैसा छैन । समस्यै समस्याबीच जिल्लाका भूकम्पपीडितले टहरोमा रात बिताएको २० महिना भयो । तर, पुनर्निर्माणले भने गति लिनै सकेको छैन । घर निर्माण सुरु गरेपछि दोस्रो किस्ता प्राप्त भएपछि निर्माण अघि बढाउने योजनामा रहेका धेरै पीडितहरू लामो समयसम्म पनि अनुदानको दोस्रो किस्ता नआउँदा अन्योलमा छन् ।

अनुदानको पहिलो किस्ता ५० हजार लिएका फुल्पिङडाँडा–५ का लालबहादुर तामाङसँग अब एक रुपैयाँ पनि बाँकी छैन । दसैंअघि नै पहिलो किस्ता लिएका उनलाई यस वर्ष दसैं टार्न सहज भयो । अनुदान रकमले दसैं टारेका उनी मध्य जाडो सुरु भएपछि बल्ल पिरोलिँदै छन्, ‘ओछ्यानमै शीत पर्न थाल्यो अब कसरी बनाउनु घर ?’ डेढ वर्षसम्म टहरामा बिताएका उनी जाडो सुरु भएसँगै टहरामा बस्न सकस भइरहेको सुनाउँछन् । ‘अब त न पैसा छ, न घर नै बन्यो,’ उनी भन्छन्, ‘टहरोमा जाडो धान्न मुस्किल परिरहेको छ ।’

घर निर्माणका लागि आएको अनुदानको रकम प्रायः भूकम्पपीडितले घर खर्चमै सकिसकेका छन् । घर निर्माणका लागि सरकारले ‘लगाम’ लगाउन नसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्