
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन कार्यक्रममा (असार ७ गते) सरकारको कामलाई एक्सप्रेस वे सँग तुलना गरेका थिए । उनले गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने बताएका थिए ।
तर, प्रधानमन्त्री बालेन आबद्ध पार्टी रास्वपाको महाधिवेशनमा भने चरम कछुवा गतिमा घिस्रिएको छ । नीति र थितिको चर्को नारा दिएर नेपाली राजनीतिमा उदाएको रास्वपाको चितवनको भरतपुरमा जारी पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरी, प्राविधिक ढिलासुस्ती र चरम आन्तरिक असन्तुष्टिको चक्रव्यूहमा फस्न पुग्यो ।
रास्वपाको महाधिवेशन निर्धारित कार्यतालिका भन्दा कम्तीमा तीन दिन पर धकेलिने निश्चित भएको छ । आइतबार, सोमबार र मंगलबारभित्रै सम्पूर्ण प्रक्रिया सकेर नयाँ नेतृत्व घोषणा गर्ने तामझामपूर्ण तयारी गरिए तापनि महाधिवेशन स्थलको भद्रगोल अवस्था र फितलो व्यवस्थापनका कारण बिहीबार भइसक्दा समेत केन्द्रीय सदस्यहरूको निर्वाचनको नतिजा आउन सकेको छैन । बिहीबार दिउँसो साढे १२ बजे मात्रै ९९ केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार केन्द्रीय सदस्यहरूको नतिजा निकालेर पदाधिकारीको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।
निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार पार्टीका उपसभापति, महामन्त्री लगायतका महत्त्वपूर्ण पदाधिकारी चयनका लागि बिहीबार मध्यरातसम्म मतदान गराउने र त्यसपछि मात्रै परिणाम घोषणा गर्नेगरी गृहकार्य भइरहेको छ ।
चौतर्फी दबाब र आलोचनाका बीच निर्वाचन समितिले बिहीबार राति ९ बजेबाट उपसभापति, महामन्त्री लगायतका शीर्ष पदहरूका लागि मतदान शुरू गर्ने कार्यतालिका सार्वजनिक गरे पनि प्रतिनिधिहरूमा छाएको निराशा र थकानका कारण तोकिएको समयमै मतदान सम्पन्न हुनेमा अझै आशंका कायमै छ ।
यस महाधिवेशनले रास्वपाभित्र भुसको आगोझैं फैलिएको आन्तरिक लोकतन्त्रको गम्भीर संकट र चरम गुटबन्दीलाई समेत सडकमा छताछुल्ल पारिदिएको छ । महाधिवेशनको अव्यवस्था र नेतृत्वको गतिविधिलाई लिएर पार्टीभित्रैबाट तीव्र विद्रोहको आवाज उठ्न थालेको छ, जहाँ केन्द्रीय सदस्यका केही उम्मेदवार स्वयंले महाधिवेशन सञ्चालनको भद्रगोल शैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
महाधिवेशनको अस्तव्यस्तता कारण धेरै प्रतिनिधि मतदान नै नगरेर घर फर्किएका थिए । केन्द्रीय सदस्यको निर्वाचनमा समेत १३ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गरेनन् ।
आमजनताको नजरमा नयाँ र वैकल्पिक शक्तिको रूपमा हेरिएको रास्वपाभित्र यो हदसम्मको भद्रगोल देखिनु आफैंमा लज्जाको विषय बन्न पुगेको छ ।
बालेनको द्रुत गति र सुशासनको मोडललाई आफ्नो राजनीतिक एजेन्डाजस्तै गरी प्रस्तुत गर्ने रास्वपाले आफ्नै घरेलु राजनीतिको पहिलो परीक्षा अर्थात् महाधिवेशन व्यवस्थापनमा नराम्ररी चुकेपछि अहिले सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ ।