
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले परिमार्जन र संशोधनसहित एमसीसी पारित गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
एमसीसीबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनालको समितिले दिएको सुझावका आधारमा एमसीसीका कतिपय बुँदामा संशोधन र परिमार्जन गरिने श्रेष्ठले बताए । ‘एमसीसीको हकमा यसलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय भएको छ । के संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई पार्टीमा छलफल गरी निश्कर्ष निकालेर अगाडि बढाउने सहमति भएको छ’ श्रेष्ठले भने ।
यसअघि एमसीसी अनुमोदनबारे नेकपामा विवाद थियो ।
बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने र त्यसअघि कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ ।
यससँगै लामो समयदेखि अनिर्णयको बन्दी बनेको स्थायी कमिटी बैठक समापन भएको छ ।