
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट बचाउँदै वैचारिक रुपान्तरण अगाडि बढाउन स्थायी कमिटीको बैठक सफल भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले एकताको उद्देश्य पूरा गर्न बैठक सफल भएको बताएका हुन् ।
‘पार्टीलाई दुर्घटनाबाट बचाउँदै, पार्टी एकताको रक्षा गरेर पार्टीलाई वैचारिक रूपमा रुपान्तरण गर्नेगरी बैठकले आधार प्रदान गरेको छ, ढोका खोलेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकमा भएका उतारचढावबाट शिक्षा लिँदै र पार्टी एकताको उद्देश्य पूरा गर्नेगरी महाधिवेशनमा बहसको प्रक्रियालाई उन्नत बनाएर सफल बनाउनेतर्फ जुटौँ ।’
बैठक चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै समापन भएको छ ।
बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने तथा एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको छ ।