१६ असार २०८३, मंगलबार

कोरोना विरुद्ध सक्रिय हुँदै स्थानीय तह, नयाँ प्रविधिदेखि अक्सिजनसम्म विस्तार

भदौ २७, २०७७
कोरोना विरुद्ध सक्रिय हुँदै स्थानीय तह, नयाँ प्रविधिदेखि अक्सिजनसम्म विस्तार

काठमाडौंँ उपत्यकामा कतिपय नगरपालिकाले कोरोनाविरुद्ध प्रभावकारी कदम अगाडि बढाउँदै छन् । सूर्यविनायक, टोखा, कागेश्वरी मनोहरा लगायतका नगरपालिकाले कोरोना जित्न स्वास्थ्य सेवालाई विशेष जोड दिएका छन् ।

सूर्यविनायकमा नयाँ प्रविधि
सूर्यविनायक नगरपालिकाले केस इन्भेस्टिकेसन कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी)का लागि जनप्रतिनिधिको अगुवाइमा स्वास्थ्य टिम निर्माण गरी घरघरबाटै नयाँ प्रविधिबाट स्वाब सङ्कलन सुरु गरेको छ । त्यस कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाको आफ्नै ट्रक (सवारी साधन)मा स्वाब सङ्कलन गर्न भाइजर जडित कक्ष निर्माण गरेर अस्पतालको ल्याब कक्षजस्तै बनाई नयाँ प्रविधिबाट बुथ निर्माण गरिएको छ । नयाँ तौरतरिकाबाट स्वाब सङ्कलन गर्दै कोरोनाविरुद्ध
अगाडि बढेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

नगरपालिकाका अनुसार सो कक्षमा स्वास्थ्यकर्मी रुमभित्र बसी स्वाब दिने व्यक्ति बाहिर बसेर सानो प्वालबाट हात छिराएर स्वाब लिने गरिन्छ । उक्त कार्यले गर्दा स्वास्थ्यकर्मी, स्वाब दिने व्यक्ति सुरक्षित हुन्छन् । उक्त बुथयुक्त सवारी साधनबाट जुनसुकै बेला पनि नगरपालिकाका सबै वडा र टोलटोलमा पुगी स्वाब सङ्कलन गर्न सजिलो भएको थापाले बताए ।
हालसम्म सो नगरपालिकाका १८९ सङ्क्रमितमध्ये १०६ जना निको भई घर फर्किसकेका छन् ।

टोखाले ग¥यो पूूर्वाधार विस्तार
टोखा नगरपालिकाले वडा नं. २ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई बाग्मती प्रदेशस्तरीय प्रादेशिक अस्पताल निर्माण गर्न सफल भएको छ । गत हप्ता बाग्मती प्रदेश सरकारले टोखा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरी उक्त निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ ।


कुल चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवनमा हाल २८ बेडको आइसोलेसन निर्माण गरिएको छ । आइसोलेसन बेड थपी ६० बेड बनाउने तयारी भइरहेको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिए । उनले भने, “पर्याप्त भौतिक पूर्वाधार भएकाले नगरस्तरीय अस्पताललाई प्रादेशिक अस्पताल बनाउन सकिएको हो । अब थप स्तरोन्नति गर्न नगरपालिकाले आवश्यक सहजीकरण गर्छ । ”
नगरपालिका क्षेत्रमा अहिलेसम्म ३०६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । १४९ जना निको भई घर फर्केका टोखा नगरपालिकाले जनाएको छ ।

कागेश्वरी मनोहरामा अक्सिजनको व्यवस्था
काठमाडौँ उपत्यकामै पहिलोपटक कागेश्वरी मनोहरा नगरपालिका–१० स्थित सनसिटी टावरमा कोभिड–१९ का बिरामी भेटिएको कागेश्वरी मनोहरा नगरपालिकाले अहिले नगरस्तरीय अस्पतालमा अक्सिजनसहितको व्यवस्था गरेको छ ।
वडा नं. ६ मा रहेको मूलपानी अस्पताललाई कोभिड विशेष अस्पताल घोषणा गरी अक्सिजन आवश्यक पर्ने बिरामीलाई अक्सिजन सहितको व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।
नगरपालिकामा हालसम्म १६६ जना कोरोनाका सङ्क्रमित भेटिएकामा १०९ जना निको भएका र ५६ जना उपचारका क्रममा रहेका नगरपालिकाले जनाएको छ । गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्